गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन थाले पछि यो बर्ष थप १ हजार रोपनीमा खेती सुरु गरीएको छ ।
प्रोत्साहन स्वरुप अनुदान रकम पाउने भए पछि किसान आफैले बाँझो रहेको मध्ये १ हजार रोपनी जमिनमा खेती ुसुरु गरेको हो ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरेर बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप प्रति रोपनी ३ हजार रुपैयासम्म अनुदान रकम उपलब्ध गराउने निर्णय भए लगत्तै यो बर्ष बाँझो भएको मध्ये १ हजार रोपनीमा खेती सुरु भएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए ।
पालिकाले बिगत ३ बर्षदेखी बाँझो जमिनमा खेती गर्ने किसानहरुलाई अनुदान रकम उपलब्ध गराउदै आएको गाउँपालिकाले जनाएको छ ।
‘आर्थिक बर्ष ०७७÷०७८ देखि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदान स्वरुप प्रोत्साहन रकम दिन सुरु गरेको हो ।
पालिकाले बाँझो जमिनको लगत संकलन गरी कृषकलाई खेती गर्न उत्प्रेरित गर्दै आएको छ । कृषि उत्पादनमा पालिकालाई आत्मानिर्भर बनाउन र कृषि पेशामार्फत गाउँमा नै स्वरोजगारीको सिर्जना गर्ने उद्वेश्यका साथ किसानलार्य प्रोत्साहन रकम उपलब्ध गराएको पालिका अध्यक्ष भट्टले जानकारी दिए ।
गाउँपालिकाले बाली र प्रकृति हेरी खाद्य र तरकारी बाली खेती गर्नेलाई प्रति रोपनी ३ हजार, मसला बालीलाई खेती गर्नेलाई प्रतिरोपनी २ हजार ५०० र फलफूल बाली लगाउने कृषक, कृषि समुह वा फर्मलाई प्रतिरोपनी २ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउदै आएको छ ।
गाउँपालिकाले ‘बाँझो जग्गा उपयोग कार्यबिधि २०७७’ बनाएर कार्यक्रम लागु गर्दै आएको पालिकाले जनाएको छ ।



