काठमाण्डौं । चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा काठमाडौं आइपुगेका छन् । उनी दिउँसो ३ः१५ बजे चार्टर विमान बोइङ्ग ७३७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक विश्वका सर्वाधिक धनाढ्यहरु मध्येमा पर्दछन् । बंगलादेशबाट विमान चार्टर गरेर आएका उनी बिहीबार बिहान पाकिस्तान जाने तालिका छ ।
पर्यटक भिसामा नेपाल आएका ज्याक माले आजै साँझ बालुवाटारस्थित चिनियाँ दूतावासमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग शिष्टाचार भेटवार्ता गर्ने सम्भावना छ । भोलि दिनभर उनी गोप्य भेटघाटमा व्यस्त हुने बताइएको छ । सोही क्रममा विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरीले पनि भेट्न चाहेको सन्देश माको सचिवालयमा पुर्याएको छ ।
उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा.प्रकाशशरण महतसँग पनि भेट गर्ने चाँजोपाँजो मिलाइएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
चिनियाँ धनाढ्य माको चार्टर विमानमा ५ जना आएका छन् । टोली हङकङमा दर्ता रहेको जेट एभिएसन बिजनेस जेट्स हङकङ लिमिटेडको ८७३७ म्याक्स ८ विमानमा आएको हो । कल साइन भीपी सीएमए रहेको उक्त विमान यात्रु चार्टरमा मात्र प्रयोग हुने बताइएको छ । आजको उडान क्याप्टेन र्याण्डी डुरान हले भरेका थिए ।
उनी आज बिहान ७ः१५ बजे काठमाडौं आइपुग्ने उडान तालिका बनाइएको थियो । तर दिउँसो मात्रै ढाकाबाट आइपुगेका कारण नेपाल प्रवेशमा ढिलाई भएको हो ।
विमानस्थलबाट माको टोली सोझै सोल्टीमोडस्थित होटल सोल्टी पुगेको थियो । केहीबेरको आरामपछि चिनियाँ दूतावास जाने कार्यक्रम छ ।


