गोरखा । गोरखा नगरपालिकाले आज आगामी आर्थिक बर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार नगरपालिकाको बाह्रौ नगरसभा मार्फत कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन तथा भौतिकपूर्वाधारको बिकासमा जोड दिदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

दश बर्षे शैक्षिक सुधार योजना, नगरबासीलाई निशुल्क स्वास्थ्य उपचार सेवा, सुत्केरी, गर्भवती, अपांगता भएका व्यक्ति तथा अतिबिपन्न परिवारलाई सहयोग, जेष्ठ नागरिकको घरघरमा स्वास्थ्य जाँच तथा औषधी वितरण गर्ने नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको छ ।
नगरक्षेत्र भित्र रहेका ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई पर्यकटिय गन्तव्यको रुपमा बिकास गर्दै पर्यटन क्षेत्रको बिकास मार्फत सम्बृद्ध नगरपालिका बनाउन गर्न नीति तथा कार्यक्रममा समावेश गरिएको छ भने छोटेलुदी ताल, ठुटेबजार बहुउद्देस्यि तालको सम्भाव्यता अध्ययन र वोकोर्लोक तथा निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर निर्माण नीति तथा कार्यक्रमको परेको छ ।

कृषिलाई बढी प्रार्थमिकता दिएको नीति तथा कार्यक्रममा खेतीयोग्य जमिन बाझो राख्नेलाई दोब्बर भूमिकर लगाउने र पशुवधशाला र स्लटर हाउस निर्माण गर्ने कुरा समेत समावेश गरिएको छ ।
नगर क्षेत्रभित्र रहेको सहकारीलाई ब्यवस्थित गर्न कोकोमिस प्रणालि लागुगर्ने, नगर क्षेत्र भित्र कोशेली घर निर्माण गर्ने, राजश्व संकलनलाई बढावा दिन करको दायरा फराकिलो बनाएर घुम्ती सेवा सञ्चालन गर्ने नीति नगरपालिकाले बनाएको छ ।
त्यस्तै गरी, एक बिद्यालय एक बगौचा, नेपाल सरकारको तलब खाने शिक्षक, कर्मचारी, जनप्रतिनिधी तथा सार्वजनिक पद धारण गरेका ब्यत्तीका बालबच्चालाई सामुदायिक स्कुलमा भर्ना गर्ने नीति लिएको छ । दलित, सिमान्तकृत, अनाथ, असहाय, शहिद परिवार, द्वन्दपिडित तथा आर्थिक रुपमा अतिविपन्न परिवारका उत्कृष्ठ बिद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृत्ती दिने, विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्न उत्प्रेरित गर्ने, नगर क्षेत्र भित्र रहेका निजी तथा सामुदायिक बिद्यालयको पोशाक एकै प्रकारको बनाउने र टाई प्रयोगमा बन्देज लगाउने तथा बिद्यालयलाई स्कुल बस सहयोग गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

घरेलु हिंसामा परेका महिलाहरुको लागि जिल्ला समन्वय समिति र सामाजिक बिकास कार्यालय संग सहकार्य गरेर सेफ हाउस निर्माण गर्ने, सहयोगापेक्षी सडक मानवमुक्त गोरखा नगरपालिकाका लागि मानव सेवा आश्रम संग सहकार्य गर्ने, सामुदायिक बिद्यालयमा भर्ना हुने बिद्यार्थीहरुका लागि बालमैत्री झोला बितरण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समेटीएको छ ।
यता जेष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र निरन्तर सञ्चालन गर्ने, अन्तरपुस्ता हस्तान्तरण तथा तिर्थाटन कार्यक्रमलाई पनि निरञ्तरता दिने भएको छ ।

नगर क्षेत्रभित्र खानेपानीको समस्या हल गर्न खानेपानी बोर्ड गठन गर्ने, प्रकोपबाट ज्यान गुमाएका ब्यक्तिका परिवारलाई प्रति ब्यक्ति २५ हजार दिने, खादा र प्लाष्टिकको झोला प्रयोगमा बन्देज लगाउने, पोके ब्यापारीलाई रोक लगाउने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगर क्षेत्र घर बनाएर नक्सा पास नगर्नेलाई नगरपालिकाबाट दिने सेवाबाट बञ्चित गर्ने, ब्यापारिक क्षेत्रमा सिसिक्यामेरा जडानलाई निरञ्तरता दिने तथा कानून र कार्यविधी बाहिरका भत्ताहरु पूर्ण रुपमा कटौती गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नीति तथा कार्यक्रममको पूर्णपाठ


