गोरखा । क्रियाशिल सदस्यको समेत सदस्यता नविकरण नगर्ने निर्णय गरेको भन्दै प्रेस चौतारी गोरखाले आज नेपाल पत्रकार महासंघ गोरखा शाखालाई ज्ञापन पत्र बुझाएको छ । शाखा सदस्य समेत रहेका उद्वव कुमालको सदस्यता खारेजीको निर्णय भए लगत्तै मंगलबार चौतारी आपत्ती जनाउदै शाखा उपाध्यक्ष नरेन्द्र ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।
कार्यबाहक अध्यक्ष सुजन न्यौपाने सहितको एक टोलीले शाखा उपाध्यक्ष ढकाललाई कार्यालय बाहिर ज्ञापन पत्र बुझाएको छ ।
शाखालाई बुझाएको ज्ञापन पत्रमा ‘मापदण्ड कार्यान्वयको क्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाको कार्यसमिति सदस्य समेत रहेका प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटिका सदस्य एवं हिमालयन टेलिभिजन गोरखाका संबाददाता उद्वव कुमालको सदस्यता नविकरण नगर्ने गरी सिफारीस गर्ने निर्णय भएको प्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ’ भनिएको छ ।
शुद्विकरण अभियानको स्वागत गरेको चौतारीले बुझाएको ज्ञापन पत्रमा ‘नेपाल पत्रकार महासंघको सदस्यता शुद्विकरण मापदण्ड–२०७९ को बिना आग्रह, पूर्वाग्रह कार्यान्वयन हुनुपर्छ’ भन्दै ‘प्रेस चौतारी नेपालको मान्यता रहेको स्मरण गराउदै शुद्विकरणकै नाममा क्रियाशिल पत्रकार कुमालको सदस्यता नविकरण नगर्ने निर्णय सच्याएर मात्रै प्रदेश र केन्द्रिय कार्य समितिमा सिफारीस गर्न माग गर्दछ’ भनेको छ ।
चौतारी गोरखा शाखाले सदस्यता शुद्विकरण मापदण्ड–२०७९ को कार्यान्वयन गर्ने प्रक्रिया थालनी गरेकोमा प्रेस चौतारी नेपाल गोरखा शाखा उक्त कदमको स्वागत गर्दछ जारी बिज्ञप्तीमा भनिएको छ ।
चौतारीले ज्ञापन पत्र बुझाउनु अगावै प्रेस सेन्टरले मापदण्ड बिपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै महासंघको कार्यालयमा तालाबन्दी गरिदिएको थियो ।



