गोरखा । गएको हप्ता हर्मीमा एक महिलालाई बसले च्यापेर मारी फरार भएका चालकलाई गोरखा प्रहरीले पक्राउ गर्न सफल भएको छ । जेष्ठ ३१ गते साँझ पख हर्मीकै स्थानिय महिलालाई बसले च्यापेर मरे पछि चालक फरार भएका थिए ।
पालुङटार नगरपालिका–४ लुईटेल घर भएका ३२ बर्षिय दिपक घर्तीलाई गोरखा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त दिन गोरखा बजारबाट हर्मी पुगेको ना. १ ख ६४६५ नम्बरको बस पार्किङ गर्ने क्रममा सिरानचोक गाउँपालिका–३ हर्मीको ठानेश्वर बस्ने ७८ बर्षिया पुतली सार्कीलाई बसले च्याप्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटना लगत्तैफरार भएका चालक घर्तीलाई गोरखा प्रहरीले असार ३ गते ईलाका प्रहरी कार्यालय गजुरीको सहयोगमा धादिङको गजुरी गाउँपालिका–५ को घाटबेशीबाट नियन्त्रणमा लिएको थियो ।
पक्राउ परका चालक घर्तीलाई असार ४ गते सवारी ज्यान शीर्षक मुद्वामा गोरखा जिल्ला अदालत गोरखा म्याद थप गरी प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















