गोरखा । गोरखाको प्रसिद्ध मनकामना मन्दिरको छेवैमा रहेको धर्मशालाको टेण्डर खुलाए पछि गुठी संस्थानको बिरोध हुन थालेको छ । संस्थानले होटल सञ्चालन गर्न जेष्ठ ३१ गते सर्वजनिक सूचना जारी गरे संगै मनकामना बासीले संस्थानको बिरोध गरेको हो ।
मनकामना गुठी संस्थाको धर्मशालालाइ संस्थानले बिगत ४० बर्ष देखि व्यापारीक प्रयोजनको लागी भन्दै व्यक्तिलाइ भाडाँमा दिएर पैसा असुल गर्दै आएको छ । तर केही बर्षदेखी उक्त स्थानमा धर्मशाला निर्माण गरेर सस्तो दररेटमा भत्तजनलाई सेवा सुविधा दिने भन्दै मनकामना क्षेत्र बिकास समितिले गुरु योजनामा नै समावेश गरेको अवस्थामा पुनः संस्थानले टेण्डर आब्हान गरेको भन्दै श्री मनकामना माई गुठीले पनि बिरोध गरेको छ ।
गुठीले संस्थानलाई लेखेकाे पत्र
गुठीका थकाली भीमबहादुर श्रेष्ठले असार २ गते गुठी संस्थानलाई पत्र लेख्दै बोलपत्र रद्व गर्न र नगरेको खण्डमा प्रतिकारमा उत्रने चेतावनी दिएको छ । गुठीले संस्थानलाई लखेको पत्रमा ‘‘हाल जिर्ण भैसकेको र भूकम्पीय दृष्टिकोणबाट पनि रातो गोलो घेरा लगाई अत्यन्त असुरक्षित भवन भनेर २०७२ सालको भूकम्प पश्चात प्राविधिक निरिक्षण भई तोकिई सकेको सन्दर्भमा कुनै पनि बेला ठूलो दुर्घटना भई जनधनको क्षति हुन सक्ने’ पत्रका भनिएको छ ।
सोही पत्रमा ‘भवनलाई भत्काई नयाँ संरचना बनाई पूर्ण रुपमा धर्मशालामा बिकसित गनुपर्ने गुठीयारहरु तथा आम जनसमुदायको एकमतलाई पटक पटक गुठी संस्थान संग छलफल र जानकारी गराई सकेको भएता पनि सो जनमतलाई लत्याई पुनः टेण्डर आब्हान हुनु सरासर जनमतको खिलाफ छ । यदि पुनः टेण्डर भै सोही भवनलाई फेरीपनि ब्यापारीक प्रयोजनमा ल्याउन खोजे श्री मनकामना माई गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय यस कार्यको घोर भत्सना गर्दै कडा प्रतिकारमा उत्रने चेतावनी दिन चाहान्छौ’ भनिएको छ ।
०७२ सालमा आएको ‘गोरखा भूकम्प’ पछि मनकामना मन्दिर जिर्णोद्वार संगै धर्मशालालाई पनि धर्मशालाकै रुपमा बिकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरु योजना तयार भई सकेको छ । गुरु योजना अनुसार धर्मशाला पछाडी रहेको स्थानलाई समेत समेटेर बनभोज स्थलको रुपमा बिकास गर्ने लक्ष्य मनकामना क्षेत्र बिकास समितिले राखेको छ ।
जनसमुदायको अनुरोध र आग्रहलाइ वेवास्ता गर्दै पुनः टेण्डर आब्हान भएकोले यसमा ठुलै पैसाको चलखेल हुनसक्ने भन्दै आवश्यक परे अख्तियारसम्म पनि जाने स्थानीय तथा समाजसेवी दिनेश जोशीले बताए ।
गुठी संस्थानले जेष्ठ ३१ गते सार्वजनिक गरेकाे टेण्डर
चौतर्फि बिरोध हुदा पनि गुठी संस्था यस बिषयमा मौन बस्नु झनै शंकास्पद देखिएको उधोग बाणिज्य संघ मनकामना ईकाइका अध्यक्ष हरि श्रेष्ठले बताए । उनले धर्मशालालाई पुनः र्निर्माण गरी धर्मशाला कै रूपमा सञ्चालन गर्नुपनेृ भन्दै कुनै पनि हालतमा धर्मशाला भाडामा लगाउन नदिने बताए ।
भुसको आगो झै सल्कीएको यो बिषयलाई संस्थाने बेलैमा संबोधन गर्न नसके टेण्डर पारेर लिनेलाई पनि ब्यवसाय संञ्चालन गर्न भने हम्मे हम्मे पर्ने छ ।






















