गोरखा । गर्मी बढेसंगै बिद्यार्थीहरु बिरामी पर्न थाले पछि पालुङटार नगरपालिका भित्रका बिद्यालयमा बिदा दिईएको छ । पालिकाको शिक्षा शाखाले आज एक सूचना जारी गर्दै पालिका भित्रका सबै बिद्यालयमा पहिलो चरणको बिदा दिएको हो ।
केही दिन यता गर्मी बढेसंगै पालुङटार नगरपालिका भित्रका केही बिद्यालयका बिद्यार्थीहरु विरामी पर्न थाले पछि नगरपालिकाको बिशेष बैठकले बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख माधव पोखरेलले बताए । ‘गर्मीका कारण बिद्यार्थी बिरामी पर्न थालेको’ भन्दै प्रमुख पोखरेलले भने ‘पहिलो चरणमा हामीले ३ दिन बिद्यालय बन्द गरेका हौ ।’
उनले गर्मी बढे अझै बिदा थपिने जानकारी पनि दिए । पालिकाले पहिलो चरणमा २८ गते आइतबारदेखी ३० गते मंगलबारसम्म बिदा दिने निर्णय गरेको छ ।
बिहीबार ३९ डिग्री मापन गरिएको तापक्रम आज पुनः बढेसंगै पालिका भित्रको ५३ बिद्यालय बन्द गर्ने निर्णय भएको पालिकाको शिक्षा शाखाले जनाएको छ । उक्त बिद्यालयमा ८ हजारभन्दा बढी बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
गर्मीका कारण धुवाकोट, मिरकोट, च्याङली, पालुङटार, ठाटीपोखरी क्षेत्रका बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु बढी प्रभावित भएको पनि शाखाले जनाएको छ ।



