गोरखा । ४ दिन अघीदेखी सञ्चालनमा आएको मगर भाषा तालिम आज सम्पन्न भएको छ । नेपाल मगर महिला संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
मगर भाषा, संस्कृतिको संरक्षणका लागि प्रशिक्षक तयार पार्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको संघले जनाएको छ । बुधबारबाट सुरु भएको तालिम शनिबार एक कार्यक्रम गरी समापन गरिएको हो ।
तालिम अवधिभर मगर जातिको इतिहास, मगर भाषा, इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराएको नेपाल मगर संघका केन्द्रीय सदस्य विष्णु रानामगरले जानकारी दिइन ।
त्यस्तै गरी, तालिममा मगर भाषाका व्याकरण, वाक्य संरचना, मगर भाषाको पाठ्यक्रम, मगर भाषाको शिक्षण विधिहरु,े लिपि विकास, मगर भाषा लेखनमा प्रयोग गरिएका लिपिहरु लगायतका बारेमा पनि प्रशिक्षण गराईएको प्रशिक्षक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा.विष्णुकुमार सिन्जाली मगरले बताए ।
तालिममा गोरखा नगरपालिकाका भित्रका १४ वटा वडाबाट २५ जनाको सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ । सहभागी सबैलाई सनिबार भएको कार्यक्रममा प्रमाण पत्र दिईएको थियो ।
नेपाल मगर महिला संघ गोरखाका अध्यक्ष पवित्रा थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाका उपाध्यक्ष नानुमाया थापा, नेपाल मगर महिला संघ गोरखाकी सचिव सविता थापा मगरको समेत उपस्थिती रहेको थियो ।




















