गोरखा । बृद्वावस्था ब्यवस्थापनको लागि गोरखा सदरमुकाममा आजदेखी प्रदेश स्तरीय स्याहार प्रशिक्षण सञ्चालनमा आएको छ । बृद्वा अवस्थाका मानिसहरुको स्याहार सुसारमा सुधार ल्याउने उद्वेश्य सहित राष्ट्रिय जेष्ठ नागरिक संघले सदरमुकामा उक्त तालिमको आयोजना गरेको हो ।
जेष्ठ नागरिक संघ गण्डकी प्रदेश सह–आयोजक र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा बुधबारदेखी सञ्चालनमा आएको तालिमको उदघाटन गर्दै प्रमुख अतिथी तथा गोरखा जिल्ला अदालतका न्याधिश तेजप्रसाद शर्मा सापकोटाले शिक्षामा नैतिक शिक्षा हटाएर विदेशी शिक्षा दिदा युवा शक्ति विदेश पलायन भएको र देशभित्र बालबालिका र जेष्ठ नागरिक मात्र भएको बताए ।
उनले राज्यको निति सच्याउन आवश्यक रहेको भन्दै २० बर्षभन्दा माथिका र ४५ बर्षमुनीका युवाहरुलाई देशभित्रै रोजगारीको र्सिजना गर्न आवश्यक रहेको बताए । एउटा लेबलको शिक्षा संगै पढन जाने बहानामा विदेश भासिदा युवा शक्ति विदेशमा नै बस्ने र देशभित्र जेष्ठ नागरिकहरुको बेहाल भएको उनले बताए ।
प्रमुख अतिथी शर्माले बृद्वा अवस्था अनिबार्य शर्त भएका कारण हामीले हाम्रा सन्तानलाई जस्तो संस्कार दिने हो त्यही फल पाउने भएका कारण जेष्ठ नागरिकहरुले आफ्ना सन्ततीलाई राम्रो संस्कार दिन आग्रह गरे ।

उनले आखाँ चिम्म गरेर संसार अध्यारो नहने भन्दै छाला राम्रो भएको रोज्ने कि चाला राम्रो भएको रोज्ने भनि प्रति प्रश्न गरे ।

जेष्ठ नागरिक संघ गण्डकी प्रदेशका संयोजक गुमानसिं कार्कीले स्वागत गरेको कार्यक्रममा केन्द्रिय सदस्य सुर्यप्रसाद श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

केन्द्रिय अध्यक्ष छत्रबहादुर प्रधानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार र जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले शुभ कामना मन्तब्य राखेका थिए ।

तालिममा मुस्ताङ र मनाङ बाहेक ९ जिल्लाबाट सहभागीहरुको सहभागीता रहेको पनि आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम शुरु हुनु भन्दा अगाडी हरमटारी खेलकुद मैदानबाट विभिन्न झाँकी सहितकाे रर्यालीले नगरकाे विभिन्न क्षेत्रकाे परिक्रमा गरेकाे थियाे ।



