गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका भित्र बसोबास गर्ने सवै नागरिकहरुको निःशुल्क दुर्घटना बीमा गरिएको छ । १६औं गणतन्त्र दिवसको अबसरमा पालिका भित्र बसोबास गर्ने १६ हजार ९८६ जना नागरिकहरुको पालिकाले निःशुल्क दुर्घटना बीमा गरिदिएको हो ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) का अनुसार पालिकाले पहिलो पटक सवै नागरिकहरुको बिमा गरिएको हो । बिमा गर्दा पालिकाले १२ लाख १६ हजार ६४२ रुपैया २५ पैसा खर्चेको छ । संभवत यो देशकै पहिलो सामुहिक दुर्घटना बीमा गरिएको पहिलो गाउँपालिका हो ।
पालिकाले प्रति ब्यक्ति ७१ रुपैया ६२ पैसा र टिकट बापत प्रति बीमा पोलिसी २० रुपैया लागत परेको जनाएको छ ।
राष्ट्रिय जनगणना २०७ ८को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सवै नागरिकहरुको सामुहिक दुर्घटना बीमा गरिएको पालिकाले जानकारी दिएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिका बिच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
अब पालिका भित्रका कुनै नागरिकहरुको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसी अनुसारको उपचार खर्च उपलब्ध गराउने छ भने दुर्घटनाबाट ज्यान गुमाएमा परिवारलाई ५० हजार रुपैया उपलब्ध गराउने गरी सम्झौता गरिएको छ ।
सम्झौता अनुसार आगामी २०८१ साल जेठ १५ गतेसम्म यो सम्झौताले काम गर्ने पालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।


