गोरखा । हजका लागि जान लागेका गोरखाका २३ जनालाई जिल्ला प्रशासन कार्यालय गोरखाले बिदाई गरेको छ । जिल्ला प्रशासने आज एक कार्यक्रम आयोजना गरी हज गर्न जान लागेका उनीहरुलाई बिदाई गरेको हो ।
उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषालले फुलको गुच्छा दिएर बिदाई गरिएका हुन् । साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष गोरखाबाट १२ जना महिला र १३ जना पुरुषले फारम भरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
ईस्लामी पात्रो ‘हिजारी सम्वत’ बाह्रौ महिना ‘जुल हिज्जा’को अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । ईस्लाम धर्म अनुसार हजयात्रा जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ ।
हज गर्नेहरुले आफनो जिवनको उत्तरदायित्व पुरा गरेपछि मात्र गर्ने गर्दछ । जस्तै, छोराछोरीको विवाह सम्पन्न भएका, ऋणबाट मुक्त भएपछी, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने मुस्लिम प्रचलन छ ।
हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्काको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने, दानपुण्य गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्नु पर्छ ।
हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय सदस्य रज्मदिन मियाँले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको बिदाई कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख अनुपम श्रेष्ठलगायतले हज यात्रीलाई शुभकामना दिदै बिदाई गरेका थिए ।
हजयात्रीहरु जेठ १८ गते हज यात्राका लागी राजधानीबाट हवाईमार्ग हुदै जानेछन् ।


