धारिलाे हतियारले आक्रमण गर्दा तीलकुमारीकाे घाँटीमा देखिएकाे चाेट
गोरखा । साता दिन अगाडी ताकुकोटमा ज्याने लिने गरी आक्रमण गर्ने समूहलाई गोरखा प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । आक्रमणमा परी बारपाक सुलिकोट गाउँपालिका–६ को ताकुकोटकी ७५ बर्षिया तीलकुमारी देवकोटा गंभिर घाईते भएकी थिइन ।
गएको जेष्ट ८ गते राती ९ः३० बजे घरमा बसी रहेको बेला युवाहरुको एक समूहले तीलकुमारीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । आक्रमणकारीले तीलकुमारीलाई घाँटीमा धारीलो हतियार प्रहार गरेका थिए ।
घाईते महिलाको अहिले पनि स्थानिय स्वास्थ्य चौकीमा उपचार भई रहेको उनका भाई महेश पनेरुले बताए । ‘अहिलेको अवस्था सामान्य छ’ भन्दै पनेरुले भने ‘घाँटीको चोट हो भोली के हुन्छ भन्न सकिन्न ।’ पिडित तीलकुमारीका अनुसार किन आफु माथि आक्रमण भयो केही थाहा नभएको बताईन ।
आक्रमणकारी भाग्ने क्रममा १ जनाको मोबाईल फेला परेको पनि सूचना अधिकारी लामिछानेले जानकारी दिएको छ । मोबाइलबाट आक्रमणकारीको पहिचान खुलिसकेको पनि उनले जानकारी दिए । यता साता दिन बितिसक्दासम्म पनि आक्रमणकारी पक्राउ नपरेको भन्दै उनका आफन्तहरुले आक्रोस पोखेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लामिछानेले आक्रमणकारीका पहिचान खुलिसकेको र खोजी कार्य भइरहेको पनि जानकारी दिए । तर आक्रमणमा के कती जनाको संलग्नता रहेको छ भन्ने कुरा चाही पहिचान भएका ब्यत्ती पक्राउ परेपछी मात्र थाहा लाग्ने उनले बताए ।
तीलकुमारी आक्रमणमा ३ जना युवा संलग्न भएको उनको परिवारले जानकारी दिएको छ ।


