गोरखा । गोरखा प्रहरीले विभिन्न स्थान र मितिमा रातको समयमा हो–हल्लाह तथा प्रहरी माथी अभद्र ब्यवहार गरेको भन्दै एकै पटक ५ जना बिरुद्व सार्वजनिक मुद्वा दर्ता गरेको छ ।
सार्वजनिक मुद्वा चलाइएकाहरुमा अजिरकोट गाउँपालिका–५ मुच्चोकका २२ बर्षिय अनिल बिक, बारपाक सुलिकोट गाउँपालिका–४ घुनचोकका २५ बर्षिय काजी मग्राती, गोरखा नगरपालिका–५ का ३४ बर्षिय राम कुवर, ८ का ३३ बर्षिय अजय गुरुङ र ४ का ३१ बर्षिय दिनेश थापा भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका मध्ये अनिल बिकले अजिरकोट गाउँपालिका–८ को जौबारीमा रहेको जौबारी प्रार्थमिक स्वास्थ्य चौकीका कर्मचारीहरुलाई कुटपिट गर्ने कोशिस गरेको र मग्रातीले जौबारी ईलका प्रहरी कार्यालयबाट खटिएका प्रहरी कर्मचारीहरु माथी गालीगलौच गरेको आरोप लागेको छ ।
त्यस्तै गरी पक्राउ परेकाहरु मध्ये गोरखा नगरपालिका–४ का दिनेश थापा, ५ का राम कुवर र ८ का अजय गुरुङले गोरखा नगरपालिका–८ को बराह क्षेत्रमा गस्तीमा रहेको प्रहरी कर्मचारीहरुलाई अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ गरी सार्वजनिक मुद्वा दर्ता गरिएको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । थापा, कुवर र गुरुङ तिनै जना स्थानिय पेट्रोल पम्पका मजदुरहरु हुन् ।
पक्राउ परेका सबैलाई बिहीबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरी म्याद थप गरेर प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
तस्बिर : गाेरखा प्रहरी



