जग्गा दान दिने बिषयमा सहमती पत्रमा हस्ताक्षर पछि कागजात हस्तान्तरण गर्दै अर्याल दम्पती
गोरखा । रोटरी क्लब अफ बज्र मनासलुको भवन निर्माणका लागि समाजसेवीले जग्गा दान गरेका छन् । गोरखा नगरपालिका)–७ नयाँ बजार निवासी बिनोद र उनका श्रीमती ज्ञानु अर्यालले रोटरीलाई जग्गा दान दिएका हुन् ।
नयाँ बजार क्षेत्रमा मेडिकल सञ्चालन गर्दै आएका अर्याल दम्पतीले भवन निर्माणका लागि गोरखा नगरपालिका–७ को डण्डीडाडाँ क्षेत्रमा रहेको ३ आना जग्गा दान दिएको रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
बजार क्षेत्रको उक्त जग्गा हालको मुल्याकंनमा १५ लाख मुल्य बरावरको भएको दाता अर्यालले जानकारी दिए । अर्याल रोटरी क्लब अफ बज्र मनासलुका उपाध्यक्ष हुन् ।
अध्यक्ष श्रेष्ठका अनुसार प्राप्त जग्गामा केही दिन भित्रैबाट भवन निर्माणको काम थालनी गरिने पनि जानकारी दिए । भवन निर्माणको लागि संस्था भित्रैका सदस्यबाट १५ लाख बरावरको रकम संकलन हुने पनि अध्यक्ष श्रेष्ठले बताए ।
भवन निर्माणका लागि हाल गोरखा नगरपालिकाले ५ लाख अनुदान दिएको रोटरी क्लब अफ बज्र मनासलुले जनाएको छ ।



