गोरखा । सुदुर उत्तरमा रहेको साम्दो गाउँ असार महिना भित्रै झिलीमिली हुने भएको छ । कादुरी नेपाल नामक संस्थाले बिद्युत लाईन बिस्तार संगै साम्दो झिलीमिली हुने भएको हो ।
बिगत लामो समयदेखी उत्तरी गोरखामा बिकासको काम गर्दै आएको कादुरीले चुमनुबी गाउँपालिकालाई नै झिलीमिली बनाउने उद्वेश्यका साथ भिन्न भिन्न स्थानमा हाइड्रोपावर निर्माण गरिरहेको छ ।
पछिल्लो समय चुमनुबी गाउँपालिका–१ को सामागाउँमा निर्माण सम्पन्न भएको १०० किलोवाटको हाइड्रोपावरको लाईन बिस्तार गर्ने क्रममा साम्दोमा काम भई रहेको स्थानिय ब्यवसायी निमादोर्जे लामाले बताए । ‘सामागाउँदेखी साम्दोसम्म लाइन तान्ने काम भईरहेको’ भन्दै उनले भने ‘असारभित्रै काम सकेर बिद्युत बितरण हुने छ ।’
कादुरीले साता दिन अगाडीदेखी पोल राख्ने र तार तान्ने काम गरिरहेको छ । चिसो र हिउँ जमेका कारण ढिला गरी काम सुरु भएको हो । सामागाउँदेखी साम्दोसम्म ६ किलोमिटरको बिद्युत लाइन बिस्तारको काम सुरु भएको हो ।
बिचको ३ स्थानमा हिम पहिरोको जोखिम भएका कारण त्यस स्थानमा अन्डरग्राउण्ड गरी तार लाने तयारी भएको पनि स्थानिय तथा ब्यवसायी लामाले जानकारी दिए । ‘बिद्युतको तार तानिएको ३ ठाउँमा हिम पहिरोको जोखिम भएका कारण अन्डरग्राउण्ड गर्न लागिएको हो’ लामाले भने ।
साम्दोबासीले हालसम्म त्यही उत्पादन भएको हाइड्रोपावरको बिद्युत उपभोग गर्दै आएका थिए । साँझको समयमा मात्र दिइने बिद्युतका कारण साम्दोबासी बिहान दिउसो भने समस्या परेका थिए ।

चिन संग सिमाना जोडिएको उक्त गाउँमा ४० घर धुरी रहेको छ । ऐतिहासिक तथा पुरातात्विक तथा पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण साम्दोमा आन्तरिक तथा बाह्य पर्यटकका लागि भनेर ९ वटा सुविधा सम्पन्न होटलहरु सञ्चालनमा आएको छ ।






















