गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा भएको २०औं रोट महोत्सव भब्य रुपमा सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन आज बैदिक विधी अनुसार दसांश हवन गरेर समापन गरिएको हो ।
सिद्वाश्रम शक्ति केन्द्रको आयोजना भएको महोत्सवमा ११ दिनको अवधिमा गुरु गोरखनाथलाई १ लाख ६१ हजार रोट अर्पण गरिएको आयोजकले जानकारी दिएको छ ।
यस पटकको महोत्सव आशा गरेको भन्दा पनि धेरै राम्रो संग सम्पन्न भएको संयोजक रामजी अर्यालले बताए । ‘हामीले आशा गरेको भन्दा पनि राम्रो हिसाबले यस पटकको महोत्सव सम्पन्न भएको’ भन्दै साधक अर्यालले ‘आज समापनका दिनमा १ हजार ८०० रोट गुरु गोरखनाथलाई अर्पण गरेर समापन गरिएयो ।’
संयोजक अर्यालले ०५९ साल यताकै उत्साहजनक महोत्सव भएको भन्दै आगामी दिनमा पनि भक्तजनहरुबाट यस्तै प्रकारको सहभागीता जनाउने अपेक्षा राखेको बताए । उनका अनुसार गएको सनिबार मात्रै २० हजार भक्तजनहरुले सहभागीता जनाएको थियो ।
आयोजकले महोत्सव अवधिभर ३० हजार श्रद्वालु भक्तजनहरुको सहभागीता रहने बताएको भएता पनि यस पटकको महोत्सवमा ४० हजारभन्दा बढीले सहभागीता जनाएको थियो । महोत्सव समापन हुने पछिल्लो ३ दिनमा मात्रै पनि २० हजारभन्दा बढी भक्तजनहरुले सहभागीता जनाएको थियो ।
बैशाख २२ गतेदेखी सञ्चालनमा आएको महोत्सवमा भारतको गुजरातबाट नाथ संप्रदायका मानिसहरुको सहभागीता रहेको थियो भने संयुक्त राज्य अमेरिकाबाट पनि ५ जनाको टोलीले महोत्सवमा सहभागीता जनाएका थिए । भारत र अमेरिकाबाट आएका उनीहरुले हवन कार्यमा समेत सहभागीता जनाएको आयोजक संस्थाले जनाएको छ ।
महोत्सव अवधिभर केन्द्रले दरवार परिषरमा रहेको कार्यालय भवनमा भक्तजनहरुलाई निःशुल्क खाना खुवाएको थियो ।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको रोट महोत्सव हरेक बर्ष बैशाख पुर्णिमाबाट सञ्चालन हुने गर्दछ ।
महोत्सव अवधीभर २५ लाख खर्च लाग्ने अनुमान आयोजनाले गरेको थियो । महोत्सवको समग्र बिषयमा जानकारी दिने गरी केन्द्रले भोली बिहान पत्रकार सम्मेलनको आयोजना गरेको छ ।




























