काठमाडौं । उद्योगी राजेशबाबु श्रेष्ठले अष्ट्रियाको ‘अनररी अफ सिल्भर’ सम्मान पाएका छन् । यो अष्ट्रियाको राष्ट्रपतिबाट प्रदान गरिने अवार्ड हो । उनी मनकामना केबलकारका कार्यकारी निर्देशक हुन् ।
नेपाल–अष्ट्रियाबीचको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको आधारमा श्रेष्ठलाई यो सम्मान दिइएको हो ।
आइतबार एक कार्यक्रमबीच नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना विजरले सो अवार्ड हस्तान्तरण गरिन् । श्रेष्ठ अष्ट्रियाका लागि नेपालको महावाणिज्यदूत हुन् ।
यसअघि अष्ट्रियाले अनरी अफ गोल्ड दिएको थियो । त्यो अवार्ड राजेशबाबुकै बाबु लक्ष्मणबाबु श्रेष्ठले पाएका थिए । आइतबार भएको कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।
कार्यक्रममा राजेशबाबुले अष्ट्रियाबाट पूर्वाधार विकासमा धेरै कुरा सिक्न सकिने बताए । ‘नेपाल–अष्ट्रियाबीच धेरै समानताहरु छन् । तर अष्ट्रियाले आर्थिक विकासमा ठूलो फड्को मारिसकेको छ,’ उनले भने, ‘पहाडको पूर्वाधार विकास र जलविद्युतमा उसको प्रगति उत्साहजनक भएर नै आर्थिक समृद्धि हासिल गरेको हो।’
उनले कोभिडका बेलामा चार लाख भ्याक्सिन सहयोग गरेको बताउँदै पाटन म्युजियम र गार्डेन अफ ड्रिम्समा समेत सहयोग गरेको बताए ।


