गोरखा । सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा सञ्चालनमा आएको स्वास्थ्य शिविरमा करिब १ हजार सर्व साधारणले सेवा लिएका छन् । सिरानचोक गाउँपालिका र पोखराको कर्मफलाइटस नेपालको संयुत्त आयोजना भएको शिविरमा ९१७ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।
गएको सोमबार र मंगलबार भएको निःशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, आँखा जाँच, फिजियो थेरापी, रगत परिक्षण, पिसाब परिक्षण, भिडियो एक्सरे तथा ईसिजि जस्ता सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।
शाखा प्रमुख श्रेष्ठका अनुसार हाडजोर्नी तथा नशा रोगका ३१७ जना, स्त्री रोगका १६१ जना, ५१५ जनाले आँखा जाँच गराएका थिए । सोही शिविरमा ३१० जनाले रगत परिक्षण, २६१ जनाले पिसाब परिक्षण,२१६ जनाले भिडियो एक्सरे तथा ईसिजि २०५ जनाले गराएका थिए । शिविरमा फिजियो थेरापी सेवा तथा ३७५ जनालाई चस्मा वितरण गरिएको थियो ।
शिविरमा बरिष्ठ फिजिसियन डा.सरिज पोखरेलको नेतृत्वमा चिकित्सकहरुले सेवा प्रदान गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।





















