गोरखा । उत्तरी गोरखाको नामरुङमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुमनुब्री गाउँपालिका–४ को नामरुङका ५९ बर्षिय छिरिङ डुन्डुप रहेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
डुन्डुपले सोही स्थानका ४५ बर्षे दोर्जे घ्याल्जेनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार डुन्डुपले गएको १७ गते आइतबार घ्याल्जेनलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । आफ्नै घरमा मृक्त भेटिएका घ्याल्जेनको घाँटीको अगाडी भागमा धारिलो हतियारले काटेको अवस्थामा भेटिएका थिए ।
बिहान ५ः०० बजे मृक्त भेटिएका घ्याल्जेनको हत्या भएको आशंकामा गोरखा प्रहरीले सोही दिनदेखी अनुसन्धान थालेको थियो । घटना पछि ईलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरिक्षक रामजी देवकोटाको नेतृत्वमा गएको प्रहरीको टोलीले डुन्डुपलाई नियन्त्रणमा लिएको थियो ।
डुन्डुपलाई प्रहरीले २३ गते शनिबार पक्राउ गरी २५ गते कर्तब्य ज्यान शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागि प्रहरीको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।


