गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९, नाम्जुङमा दुई बर्षअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले करिब साढे दुई करोड रुपैयामा ठेक्का लगाएको खानेपानी आयोजना २०७८ असारमा नै निर्मांण सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलो पटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दा समेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छोडेको छ ।
अहिलेसम्म आयोजनाको भौतिक प्रगती करिब ५० प्रतिसत मात्र भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । ‘लिफ्टिङ प्रबिधिबाट निर्माण गर्न लागिएको यो आयोजना तीन किलोमिटर टाढा रहेको ढिकुरे रहबाट पानी तानेर बितरण गर्ने गरि सुरु गरिएको हो, उहाँले भन्नुभयो, ‘ रिजर्भ ट्याङ्की सहित ४ वटा ट्याङकी निर्माण गर्ने गरि आयोजनाको स्टमेट डिजाईन छ ।’ टयाङकी निर्माणको काम भने अहिले उपभोक्ता समिति मार्फत पहिले नै बनेकाले पछिल्लो बजेटबाट पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माण लगायतका काम गर्ने गरि सम्झौता भएको थियो ।’
प्रमुख पौडेलले ठेकेदार कम्पनीले पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काम मात्र सम्पन्न गरेको बताउनुभयो । ‘काम सम्पन्न गरे अनुसार आधारमा कार्यालयले अहिलेसम्म ठेकेदार कम्पनीलाई १ करोड ३० लाख रुपैया मात्र भुक्तानी गरिसकेको छ, उहाँले भन्नुभयो, ‘त्यस बाहेक एघार लाख रुपैया ठेकेदार कम्पनीले पेस्की स्वरुप बुझिसकेको छ ।’ प्रमुख पौडेलले अझै नियमित काम गरे असार मसान्तसम्म काम सम्पन्न गर्न सक्ने अबस्था रहेको समेत बताउनुभयो ।
‘कार्यालयका तर्फबाट हप्तामा एक पटक फोन गरेर पनि काम समयमा सम्पन्न गर्न भनेको भनै छौ, उहाँले भन्नुभयो, ‘टेलिफोनमा मात्र नभएर दुई पटकसम्म त लिखित रुपमा पनि पत्र पठाई सकिएको छ ।’ आयोजना निर्माण सम्पन्न भए कार्यालयले आबश्यक बिद्युतीकरणका लागि ठेक्का लगाउने तयारी गरिरहेको प्रमुख पौडेलले बताउनुभयो ।
आयोजनाबाट पधेरा गाउँ, खोलापारी, माथिल्लो आरुबोटे, डाँडागाउँ लगायतका क्षेत्रका करिब २ हजार ३ सय ७७ घरघुरीमा खानेपानी पु¥याउने लक्ष्य रहेको थियो । ठेकेदार कम्पनी नानाजेभीले भने कोरोनाका कारण आयोजना निर्माणमा ढिलाई भएको दावी गरेको उहाँले जानकारी दिनुभयो ।
रासस



