गोरखा । गोरखा सदरमुकाममा आजदेखी २०औं रोट महोत्सव सुरु भएको छ । सिद्वाश्रम शक्ति केन्द्रको आयोजनामा भएको महोत्सव जेष्ठ १ गतेसम्म जारी रहने छ ।
महोत्सव अवधिभर १ लाख २५ हजार रोट चढाउने महोत्सवमा स्वदेश तथा विदेशबाट करिब ३० हजार मानिसले महोत्सवमा सहभागीता जनाउने अनुमान गरिएको छ ।
विश्व शान्तिको कामना गर्दै १९ बर्ष अगाडीदेखी सुरु भएको महोत्सवलाई गोरखाले भने बाह्य तथा आन्तरिक पर्यटकलाई गोरखा घुम्न आउने अवशरको रुपमा लिएको छ ।
महोत्सव हरेक बर्ष बैशाख पुर्णीमाको दिनदेखी सुरु भएर ११ दिनसम्म चल्ने गर्दछ ।
महोत्सवको पहिलो दिन सदरमुकाममा रहेको सिद्वाश्रम शक्ति केन्द्रको प्राङगणबाट कलश यात्रा सुरु भएर गोरखनाथ मन्दिर पुगेर समापन हुने गर्दछ । सोही दिन गोरखनाथको झण्डोतोलन समेत हुने गर्दछ ।
पहिलो दिन विधि पूर्वक गोरखनाथको पुजा पछि उनको प्रिय मानिएको प्रसाद रोट बनाउने काम सुरु हुने गर्दछ ।
राजा पृथ्वीनारायण शाहको पालामा नेपाल एकिकरणका बखत गोरखनाथको उक्त प्रसाद ४ वटा र २ माना पानी खाएको खण्डमा दिनभरी भोक मेटिने र सोही बलमा लडाई गर्ने गरेको किम्बदन्ती पाईन्छ ।
गोरखनाथलाई चढाइने उक्त रोटमा ५२ प्रकारको मसला प्रयोग हुने गर्दछ ।
काजु, मह, चिनी, दालचिनी, ल्वाङ, सुकमेल, अलौची, नरिवल, छोकडा जस्ता ५२ प्रकारको मसलाहरु प्रयोग हुने गरेको इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

















