गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा आजदेखी २०औं रोट महोत्सव सुरु भएको छ । सवालाख रोट महोत्सव जेष्ठ १ गतेसम्म चल्ने छ ।
रोट महोत्सवको पहिलो दिन गोरखा बजारदेखी गोरखनाथ मन्दिरसम्म कलश यात्रा सम्पन्न गरिएको छ । शुक्रबार बिहान गोरखा सदरमुकामको बैंक रोटबाट सुरु भएको कलश यात्रा पुरानो बसपार्क, पदेली, ठुलो आँगन, सतिपिपल, रामशाह चौतारो हुदै गोरखकाली मन्दिरलाई दाहिने पारी गोरखानाथ मन्दिरमा पुगेर सकिएको छ ।
कलश यात्रामा विभिन्न प्रकारको झाँकीका साथै प्रतिकात्मक राजा पृथ्वीनारायण शाहका साथै शाहकै पालाको सेना गुर्जुको पल्टनको समेत सहभागीता रहेको थियो ।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको रोट महोत्सव हरेक बर्ष बैशाख पुर्णिमाबाट रोट सञ्चालन हुने गर्दछ । धार्मिक महोत्सव भएका कारण यो महोत्सवमा ३० हजारसम्म स्वदेशी तथा विदेशी भक्तजनको सहभागी हुन सक्ने अनुमान आयोजकले गरेको छ ।
११ दिन सम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको निशुल्क प्रवन्ध गरेको आयोजकले जनाएको छ ।
महोत्सव अवधीभर २५ लाख खर्च लाग्ने आयोजनाले जानकारी दिएको छ । उक्त खर्च सिद्वाश्रम शक्ति केन्द्र, त्यसका साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा जुटाउने पनि आयोजकले जानकारी दिएको छ ।



