गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) प्रयोग नगर्न भनेको छ ।
प्रशासनले शुक्रबार सूचना जारी गर्दै पञ्चाङ्ग तथा पात्रो प्रकाशन गर्न चाहने ब्यक्ति, संघ संस्था तथा समुदायले स्वीकृति लिनुपर्ने ब्यवस्था रहेकोले अनाधिकृत रुपमा स्वीकृति नलिई छापिएका भित्तेपात्रो प्रयोग नगर्न भनेको हो ।
प्रशासनले आज जारी गरेको सूचनामा ‘सार्वजनिक विदाका सम्वन्धमा निर्णय लिदा नेपाल सरकार मन्त्रीपरिषदले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरी उपलब्ध गराउने डाटा प्याड समेतलाई आधार लिने गरेको तथा पात्रो (तिथी, मिति, बार, नक्षत्र, योग, करण, ग्रह स्थिती, ग्रह उदय र अस्त, बक्र तथा मार्गी अवस्था, चाडपर्व, मुहूर्त, साइत आदि विवरण उल्लेख भएको पुस्तिका) तयार गरी प्रकाशन र बिक्री वितरण गर्ने गराउने जिम्मेवारी समेत नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति (गठन) आदेश, २०७७ ले सो समितिलाई प्रदान गरेको छ । सो सम्वन्धमा उक्त समितिको आन्तरिक ब्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग तथा पात्रो (भित्तेपात्रो, गोजीपात्रो समेत) प्रकाशन गर्न चाहने ब्यक्ति, संघ संस्था तथा समुदायले उक्त समितिको स्वीकृति लिनुपर्ने ब्यवस्था रहेकोले अनाधिकृत रुपमा स्वीकृति नलिई छापिएका भित्तेपात्रो प्रयोग नगर्न÷नगराउन सम्वन्धित सबैमा यो सूचना जारी गरिएको छ’ भनिएको छ ।
सूचनामा त्यस्ता अनाधिकृत एवं स्वीकृति नलिई छापिएर आएका भित्तेपात्रो प्रयोग गरेको खण्डमा के गरिन्छ भन्ने बारेमा भने केही पनि जानकारी दिईएको छैन ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जारी गरेको हो ।



