गोरखा । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखाका २ जनालाई प्रहरीले राजधानीबाट आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गण्डकी गाँउपालिका–८ घ्यालचाेक घर भई ललितपुर गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी र सोही ठाउँ बस्ने ४५ वर्षीया कमला रेग्मी रहेका छन् ।
दुर्गाबहादुर र कमलाले पोर्चुगल पठाई प्रतिष्ठित होटलमा २ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा २१ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर गोदावारी ठैबबाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका रेग्मी द्वयलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।



