गोरखा । पछिल्ला केही बर्षहरुमा जिल्लामा सवारी दुर्घटना बढेको भन्दै न्यूनिकरण लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सुरु गरेको छ । ट्राफिक प्रहरीले सदरमुकाम तथा ग्रामिण क्षेत्रमा माईकिङ गर्दै सवारी दुर्घटना न्यूनिकरणका लागी सचेतना गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा ट्राफिक प्रहरीले अहिले गोरखा सदरमुकाम तथा ग्रामिण क्षेत्र र ईलाका प्रहरी तथा प्रहरी चौकी रहेका स्थानहरुबाट जनचेतना मुलक सन्देशको माईकिङ गर्दै आएको ट्राफिक प्रहरी कार्यालय गोरखा ईन्र्चाज प्रहरी नायव निरिक्षक बेदनाथ भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार केही दिनदेखी प्रहरी र ट्राफिक रहेको स्थानहरुबाट दुर्घटना न्यूनिकरणका लागी ट्राफिक प्रहरीले सर्व साधारणलाई जानकारी दिने उद्वेश्य सहित जनचेतना मुलक सन्देशहरु प्रशारण गर्दै आएको हो ।
यो कार्यक्रमलाई बैशाख २४ गतेसम्म निरन्तरता दिने कार्यालयले जानकारी दिएको छ । बैशाख २५ गतेबाट भने ट्राफिक सप्ताह सुरु हुने भएका कारण त्यती बेलासम्म प्रचार प्रसारमा नै जोड दिएको हो ।
ट्राफिक सप्ताह बैशाख २५ गतेदेखी ३१ गतेसम्म हुने पनि कार्यालयले जनाएको छ । उक्त समयमा भने कार्यालयले सरोकारवाला निकाय संग समन्वय गरी विविध कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
सप्ताहको पहिलो दिन सदरमुकाममा जनचेतना मुलक रर्यालीको आयोजना गरिएको छ । त्यस पछिका दिनमा स्कुलका बिद्यार्थीहरुलाई स्कुलमा नै पुगेर दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना सम्वन्धी जानकारी दिनेदेखी सडकमा नै चालक तथा सहचालकलाई प्रशिक्षण गराउने कार्यक्रम पनि तय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका ईन्र्जाज भण्डारीले जानकारी दिए ।
त्यस बाहेक पनि यातायात ब्यवसायी र सरकारी कर्मचारीहरुलाई समेत दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना सम्वन्धी जानकारी दिने कार्यक्रम राखिएको इन्र्चाज भण्डारीले बताए ।



