साँकेतिक तस्बिर
गोरखा । गोरखा जिल्लामा चैते धानको खेती गर्नेहरु घटेका छन् । अघिल्लो बर्ष झण्डै ७३५ हेक्टर क्षेत्रफलमा लगाइएको चैते धान यो बर्ष भने करिब ३३० हेक्टरमा मात्र खेती भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । ‘यो बर्ष ३३० हेक्टर क्षेत्रफल जमिनमा मात्र चैत धान बाली लगाइएको छ, उनले भने, अघिल्लो बर्षको तुलना गरेर हेर्दा झण्डै आधा हो ।’
जिल्लाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र आरुघाट गाउँपालिकामा चैते धान खेती हुदै आएको भएपनि गत बर्षको तुलना सवै पालिकाहरुमा चैते धान रोपाईमा कमी आएको उनको भनाई छ ।
अजिरकोट गाउँपालिकामा यसपटक २५० रोपनी क्षेत्रफलमा चैते धानको खेती लगाइएको छ । अजिरकोटको झ्याल्लाथान, झ्याल्लाबजार, झयाल्ला फाँट, मुच्चोकटार लगायतका क्षेत्रमा गरि करिब ३०० रोपनी क्षेत्रफलमा चैते धानबाली हुने कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै गण्डकी गाउँपालिकामा करिब २०० रोपनी क्षेत्रफलमा चैते धानखेती हुने भएपनि १२५ रोपनी क्षेत्रमा मात्रै चैते धानखेत गरिएको छ ।
यता गण्डकीमा धम्सुर खोला, दर्बुङ्ग फाँट, फुजेल खोला, डिहि फाँट, ध्याल्चोक र बेनीबेशीमा चैत धानको राम्रो खेती हुने गरेको छ । शहीद लखन गाउँपालिकाको कान्टार, नाम्जुङ्ग, कल्लेरीमा चैते धानखेती हुन्छ ।
त्यस्तै गरी, गोरखा नगरपालिकाको छेवेटार, कुन्दुरटार, वडहरे, गौरी फाँट लगायत चैते धानको खेती हुने गरेको छ । पालुङटार नगरपालिकाको भुसुन्डे, सेरा, विर्दीफाँट, माले बगर, नैविसे, खारखोला पाउरोटी भण्डार लगायतका क्षेत्रमा गरि करिब १ हजार रोपनी क्षेत्रफलमा धान खेती हुने गरेको छ । तर यस पटक करिब ६०० रोपनी क्षेत्रफलमा मात्र चैते धान लगाइएको कार्यालयमा रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यालले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्दा सिरानचोक गाउँपालिकाको भुसुन्डे फाँट, जरेवर, खैरेनीवन लगायतका करिब २ हजार ६०० रोपनी क्षेत्रफलमा खेती हुने भएपनि यो बर्ष भने ८५० रोपनी क्षेत्रफलमा मात्र धानखेती लगाइएको देखिन्छ ।
बारपाक सुलिकोट गाउँपालिकामा अत्यन्तै काम मात्रै चैत धान खेती हुने गरेको कार्यालयले जनाएको छ । गएको बर्ष जिल्लामा करिब ७३५ हेक्टर जमिनमा चैते धान खेती लगाइएकोमा झण्डै ३ हजार १५४ मेट्रिकटन धान उत्पादन भएको थियो ।
गोरखा जिल्ला भित्र बिशेष गरि हर्दिनाथ, कञ्चन, स्थानीय र चैत–५ लगायतका जातका धानहरु लगाइने गरिन्छ । गोरखाको चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका चैते धान खेती हुदैन ।


