गोरखा । गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा वैशाख १२ गते सार्वजनिक विदा हुने भएको छ । २०७२ साल वैशाख १२ गते गएको बिनाशकारी ‘गोरखा भूकम्प’ मा परी ज्यान गुमाउनेहरुको सम्झनामा पालिकाले सार्वजनिक बिदा दिएको हो ।
उक्त समयमा बारपाक केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी गोरखामा मात्रै ४७२ ज्यान गुमाएका थिए ।
बिदाका दिन गाँउपालिका भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र विद्यलय बन्द रहने छ ।
शनिबार दिन बिहान ११ः५६ मा गएको सो भूकम्पले देशैभर ८ हजारभन्दा बढीको मृत्यु भएको थियो । लाखौंको भौतिक संरचना ध्वस्त भएको सो भूकम्पले सांस्कृतिक धरोहर मानिने सम्पदाहरुमा समेत नराम्रोसँग क्षति पुर्याएको थियो । विशेषगरी भूकम्पले गोरखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोटलगायत १४ जिल्लामा अत्याधिक विनाश गरेको थियो ।
यीबाहेक पनि नेपालको मध्य र पश्चिम क्षेत्रमा भूकम्पको प्रभाव देखिएको थियो । पटक–पटकको पराकम्पका कारण पनि नेपालमा थप जनधनको क्षति भएको थियो । यो अवधिमा ४ म्याग्निच्युडमाथिका करिब ५०० भन्दा बढी पराकम्पनहरु गरइसकेका छन् ।


