गोरखा । नयाँ बर्षमा गोरखा सदरमुकाममा हुन लागेको नेवाः भोयः को लागि आज सरोकारवालाहरु बिच छलफल भएको छ । नेवाः देव् दबू गोरखा नगर कमिटीले सदरमुकाम वरपर रहेको गुठीहरु संग छलफल गरेको हो ।
नगर कमिटीले नयाँ बर्षको बैशाख ९ गते आयोजना गरेको ‘नेवाः भोयः तथा साँस्कृतिक उत्सव २०८०’ को लागि सुझाव लिने गरी छलफलको आयोजना गरेको अध्यक्ष राहुल बज्राचार्यल जानकारी दिए ।
नेवाः समुदायको कला र संस्कृती जोगाउने उद्वेश्यका साथ आयोजना हुन लागेको भोयः अर्थात भोजलाई कसरी ब्यवस्थित गर्ने भन्ने बारेमा राय लिने उद्वेश्यका साथ छलफलको आयोजना गरिएको हो । छलफलमा सहभागी गुठीका प्रतिनिधीहरुले सबैले आ–आफ्नो दायित्व पुरा गरेर भोयः सभ्य र भब्य रुपमा सम्पन्न हुने बताए ।
नेवाः देव् दवूले पहिलो पटक २०७५ सालमा नेवाः कला र संस्कृती जोगाउने उद्वेश्यका साथ भोयःको आयोजना गरेको थियो । त्यस लगत्तै कोरोनाले विथोलिएको भन्दै आउदो नयाँ बर्ष २०८० साल बैशाख ९ गते दोस्रो नेवाः भोयः को आयोजना गरिएको अध्यक्ष बज्राचार्यले बताए ।
साँस्कृतिक उत्सव गोरखा संग्रालय परिषर भित्र आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । नेवारी परम्परा अनुसार नै खुवाईने उक्त भोजका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
नेवाः देव् दवू नगर कमिटीका अघ्यक्ष राहुल बज्राचार्यकाे अघ्यक्षतामा भएकाे छलफल कार्यक्रममा जिल्ला कमिटी गोरखाका नाय (अध्यक्ष) देवीप्रसाद श्रेष्ठको, शरण गुठी, खिरेपानी गुठी, बराह गुठी, छिपिटोल गुठी, शाही गुठी, भीमसेन गुठी, श्रीपञ्चमी गुठी, छेवेटार गुठी, नेना गुठी, मोरुवा गुठीका साथै नेवाः पत्रकारको समेत सहभागीता रहेको थियो ।



