फाईल तस्बिर
काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।
उनले इतर समूहका नेता डा.शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन् ।
वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ । ‘पार्टीमा रहन्न भनेर सन्देश पठाउनुभएको छ,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।’
वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा भएको बुझीन आएको छ । उनी तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुगेका हुन् ।
वाग्लेले नेताहरुलाई पठाएको सन्देशमा सभापति शेरबहादुर देउवाको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।
‘प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ,’ उनले लेखेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’
वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि उल्लेख गरेका छन् ।
‘यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ,’ उनले पठाएको सन्देशमा लेखिएको छ ।
वाग्लेले सन्देशमा इतर समूहका नेताहरु निर्णायक हैसियतमा आएको अवस्थामा कांग्रेससँग जोडिन सक्ने पनि बताएका छन् ।
‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ,’ उनले लेखेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
उनले नेता कोइरालालाई पठाएको सन्देश महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मालाई पनि पठाएका छन् ।


