गोरखा । नामजुङको बुंकोटघाट सञ्चालित ‘भीमवीरेश्वर महादेव आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा लक्ष्यभन्दा आधा रकम उठेको छ । महायज्ञको आज हिसाब सार्वजनिक गर्दै मुल समारोह समितिले लक्ष्य अनुसारको रकम संकलन गर्न नसकिएको जानकारी गराएको हो ।
शहिदलखन गाउँपालिका–९ नामजुङको बुंकोटघाटमा फाल्गुण २३ गतेदेखी ३० गतेसम्म भएको महायज्ञ ९३ लाख ९४ हजार ३४ रुपैयाँ संकलन भएको मुल समारोह समितिका संयोजक सुरेन्द्रबहादुर थापाले जानकारी दिए । शुक्रबार सदरमुकाममा पत्रकार सम्मेलन मार्फत हिसाब सार्वजनिक गर्दै थापाले महायज्ञका लागि ३९ लाख ७४ हजार ५ रुपैयाँ खर्च हुदा ५४ लाख १८ हजार ५२९ रुपैयाँ बचन गर्न सफल भएको बताए ।
यज्ञबाट २ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो । मन्दिर पुनः स्थापनाका लागि गरिएको महायज्ञमा ९ जनाले ब्रतबन्ध गराएका थिए भने ११ जनाले तुला दान गरेको कोषाध्यक्ष लिला श्रेष्ठले जानकारी दिईन ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार यज्ञमा प्रतिबद्वता अनुसारको १९ लाख ५९ हजार ९८४ रुपैयाँ उठन बाँकी रहेको जानकारी दिईन । सोही यज्ञमा शहिदलखन गाँउपालिका–६ फुनडाडाँ निवासी ७५ बर्षिय खिलप्रसाद ढकालले १ रोपनी जमिन दान गरेका थिए ।
संयोजक थापाले चैत्र मसान्तसम्ममा प्रतिबद्वता अनुसारको रकम उठाई सक्ने भन्दै त्यस पछि मात्र कुल बचत रकम कति हो भन्ने पूर्ण जानकारी आउने पत्रकारहरुलाई गराएका थिए ।
बुकोट घाटमा विक्रम सम्बत १९८८ सालामा भिमसेन थापाले भीमवीरेश्वर महादेवको मन्दिर, सत्तल, कान्जिघर, कारागार तथा माझी र पाहुना घरहरु निर्माण गरेका थिए ।
बुढी गण्डकी जलाशय निर्माण गर्दा उक्त स्थान ढुवानमा पर्ने भए पछि स्थानियको सक्रियतामा उपयुत्त स्थानमा सार्नका सो स्थानमा महायज्ञ लगाईएको थियो ।
ऐतिहासिक उक्त मन्दिर ०३६ साल पछि भिमसेन थापाका सन्ततीहरुमा बिचन आए संगै लथालिंग र भग्नावशेष अवस्थामा रहेको छ । मन्दिरमा भएका सुनका गजुर, नागपासा तथा बहुमुल्य बस्तु अहिले पनि ब्यत्तिहरुले आफ्नो निजी घरमा राख्दै आएका छन् ।
१०६ रोपनी क्षेत्रफलमा फैलिएको संरचना ढुवान क्षेत्रमा पर्ने भएका कारण उपयुत्त स्थानको पहिचान गरी जग्गा खरिख गर्न महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञमा गोरखाको गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिकाका साथै धादिङको ज्वालामुखी, खरी र त्रिपुरासुन्दरी गाउँपालिकाका करिब ३० हजार भक्तजनहरुले कथा श्रवण गरिहको मुल समारोह समितिका महासचिव नारायण लामिछानले बताए ।
बुंकोट घाटमा रहेको सत्तल नेपालकै ठुलो सत्तल (चत्वरे यात्री, बटुवा आदिलाई बस्नका निम्ति सरकार वा धर्मात्मा ब्यक्तिहरुद्वारा ठाउँठाउँमा–विशेषतःदेवस्थलहरुमा–निर्मित ठुलो कोठो, तलो आदि भएको घर वा पाटी; धर्मशाला) मानिदै आएको छ ।


