फाईल तस्बिर
गोरखा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्ड भूराजनीतिक शक्तिहरुको दवाव र प्रभावमा परेको आरोप लगाए ।
प्रेस चौतारी गोरखाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालका भूराजनीतिक शक्तिहरुको प्रभाव, चलखेल, जालझेल र षड्यन्त्र शुरु भएको बताएका हुन । ‘नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितका दलले सहमति गरेर मुुलुकको स्थिरताका लागि र स्वाधनिताको रक्षाका लागि गठवन्धन बनाइएको थियो’ गुरुङले भने, ‘प्रधानमन्त्री प्रचण्ड अदृश्य भूराजनीतिक शक्तिहरुको षड्यन्त्रको खलनायकका रुपमा देखा पर्नुभएको छ ।’
पुष १० गते ७ दलबिच भएको सहमतिबाट प्रचण्ड पछि हट्नाले नेपालको राजनीति अस्थिरतातर्फ गएको गुरुङको भनाई छ ।
नेपालमा स्थिरता चाहनेहरुका लागि वामपन्थी गठवन्धन टुट्ने कुरा दुखदायी भएको पनि उनले बताए । ‘नेपाली काँग्रेस प्रतिपक्षमा बस्न तयार भैसकेको अवस्थामा काँग्रेससँग भोट माग्न जानुनै षड्यन्त्रको शुरुवात हो, १६९ साँसदको समर्थन पाइसकेको अवस्थामा आवश्यक नपर्ने मत किन माग्न गएको ?’ एमाले उपमहासचिव गुरुङले प्रश्न गरे ।
एमसिसिलाई कार्यान्वयन गर्ने, एसपिपि कार्यान्वयनमा ल्याउने र यसअघिका राष्ट्रपतिले रोकिराखेको नागरिकता विधेयकलाई छिटो भन्दा छिटो पास गराउने उदेश्यले मात्रै अहिलेको गठवन्धन बनेको उनले दावी गरे । ‘पुष १० गते हामीले देशभित्रै नेपालीहरुलेनै डिजाइन गरेको गठवन्धन बनाएका थियौं तर अहिले चाहिँ अरुले कतैबाट डिजाइन गरिएको गठवन्धन बनेको छ’ उनले भने ।
नेपालको राजनीतिमा चीनको प्रभाव नपर्ने, भारतको मात्र प्रभाव पर्ने पनि गुरुङको भनाई छ । ‘पुष १० को गठबन्धनले दक्षिणतिरको शक्ति चकित प¥यो र यो गठबन्धन रहेसम्म इण्डोप्साफिक रणनीति पनि सफल हुदैन, आइपिएस पनि अघि बढ्दैन, नेपालको राष्ट्रिय हितमा काम गर्ने सरकार आयो भने हाम्रो प्रभाव फितलो हुन्छ भनेर जसरी पनि यो तोड्न लागि परे’, उनले भने, ‘हामीले बिनाआधारको आरोप लगाएको होइन । हरेक घटनाले यसलाई प्रमाणित गरिरहेको छ ।’
शान्ति प्रक्रियाको कुरा झिकेर सँधै माओवादीलाई कमजोर बनाउने र त्यसबाट फाइदा उठाउने काम पनि भारतले गरिरहेको गुरुङको भनाइ छ । ‘अरु केही जोर चलेन भने आइसिसीको कार्ड फाल्छन्, आइसिसीको तरबार चलाउँछन्’, उनले भने, ‘आइसिसीको तरबार देखेपछि माओवादीहरु त्यसैत्यसै आतंकित हुन्छन् ।’
फरक प्रसङगमा एमाले उपमहासचिव गुरुङले केन्द्रीय सत्ता गठबन्धनको प्रभावले प्रदेश सरकार डगमगाउन नहुने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले केन्द्रको प्रभाव प्रदेशमा पर्नु संघीयताको भावना बिपरीत हुने समेत बताए । यो अभ्यास स्थिरताका लागि, पालिकाका लागि, प्रदेशका लागि, संघीयताको मर्म र भावनाका लागि पनि उपयुक्त नभएको उनको भनाइ छ ।
केन्द्रको प्रभाव प्रदेशमा नपार्ने अभ्यास गर्न कसैको आँट नभएको पनि एमाले उपमहासचिव गुरुङले बताए ।




















