बरामद सालका गाेलिया र विभिन्न साईजका सालका काठहरु
गोरखा । गोरखा सदरमुकामबाट ठुलो परिमाणमा अवैध सालको काठ सहित फर्निचर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वर चिसापानीका आसकुमार सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
सुनारले चिसापानीमा सञ्चालन गर्दै आएको आशिष फर्निचरमा सालका अवैध काठहरु ठुलो परिणममा भएको भन्ने विशेष सूचनाको आधारमा गोरखा प्रहरीले सोमबार साँझ ६ बजे छापामार्दा ४९ थान सालका गोलियाका साथै विभिन्न नापका चिरान काठ ११९ थान फेला पारेको हो ।
सञ्चालक सुनारलाई सोमबार साँझ नै पक्राउ गरी डिभिजन बन कार्यालय गोरखामा बुझाईएको र बरामद काठ जिल्ला प्रहरी कार्यालय परिषरमा राखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
यता डिभिजन बन कार्यालय गोरखाले भने पक्राउ परेका सुनारका सम्वन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
तस्बिर : जिल्ला प्रहरी कार्यालय गाेरखा


