साँकेतिक तस्बिर
गोरखा । अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएपछि गोरखा एक युवकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेपछि उक्त कार्यमा संलग्न रहेको भन्दै गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलका २३ वर्षीय अर्याल पक्राउ गरेको हो ।
अमेरिकाबाट आएको पार्सलबाट २ किलो ४०० ग्राम गाँजा बरामद भएको व्युरोले जानकारी दिएको छ । पार्सल लिन पुगेका अर्याललाई काठमाण्डौको नागार्जुन–१ खरीबोटबाट पक्राउ गरिएको हो ।
उनलाई पार्सल लिनको लागि प्रयोग गरिएको प्रहरीले जनाएको छ । होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ । ब्युरोको प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारतमा लग्न लागिएको अनुमान गरिएको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।
त्यस्तै सोही कार्यमा संलग्न अन्य २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा गत आइतबार एउटा पार्सल आइपुगेको थियो ।
क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै उक्त पार्सल काठमाडौंमा आइपुगेको थियो । जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो ।
पार्सल लिनकै लागि गएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलमलाई पनि प्रहरलिे पक्राउ गरेको एसपी जोशीले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ ।




















