गोरखा । गोरखाको शहिद लखन गाऊँपालिका–९ को नामजुङ बुंकोटघाटस्थित भीमविरेश्वर मन्दिरमा आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ शुरु भएको छ ।
भीमविरेश्वर महादेव मन्दिर परिसरमा ७ दिनसम्म चल्ने महायज्ञको गण्डकी प्रदेशसभाका साँसद सुरेन्द्रराज पाण्डेले मंगलवार उद्घाटन गरेका हुन ।
भीमविरेश्वर मन्दिर परिसरमा महायज्ञको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका साँसद सुरेन्द्रराज पाण्डेले मन्दिर स्थानान्तरणका लागि आवश्यक पर्ने जग्गा सरकारले उपलब्ध गराउन पहल गर्ने बताए । हाम्रो सनातन धर्म र संस्कृतिको रक्षा हुन नसक्दा पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै उनले यसप्रकारका धार्मिक कार्यले धर्मको पुस्तान्तरणमा पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
बूढीगण्डकी डुवानक्षेत्रमा पर्ने सो मन्दिरको स्थानान्तरण कार्यका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ गरिएको मुल आयोजक समितिका संयोजक सुरेन्द्रबहादुर थापाले बताए । मन्दिर क्षेत्रले हाल १०६ रोपनी जग्गा ओगटेको छ । डुवानमा नपर्ने आसपासको ठाऊँमा त्यतिनै जग्गा खरीद गर्ने उदेश्यले महायज्ञ गरिएको उनले जानकारी दिए ।
उपयुक्त क्षेत्रको पहिचान गरेर मन्दिर स्थानान्तरणको योजना सहित महायज्ञ आयोजना गरिएको आयोज नामजुङ सेवा समाजका अध्यक्ष शिव बन्जाराले जानकारी दिए । बूढीगण्डकी जलविद्युत आयोजनाका कारण डुवानमा पर्ने भएपछि हाल सो मन्दिर लथालिंग अवस्थामा रहेको छ ।
विसं १९८८ सालमा भिमसेन थापाले बनाउन लगएको उक्त मन्दिर गोरखाको शहिद लखन, गण्डकी, भिमसेन थापा गाऊँपालिका तथा धादिङको त्रिपुरासुन्दरी, ज्वालामुखी लगयात गाऊँपालिकाका बासिन्दाको धार्मिक आस्थाको केन्द्रको रुपमा परिचित छ । मन्दिरका कतिपय पुराना सामग्री हराउँदै जान थालेकाले जतिसक्दो छिटो स्थानान्तरण गर्ने देखिन्छ ।
वाचन प्रवीण पण्डित दीनवन्धु पोखरेलले कथा वाचन गुर्ने महायज्ञबाट करीव १ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य मूल आयोजक समितिले राखेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, साहित्यकार तथा पत्रकार डाक्टर नवराज लम्साल, पण्डित दीनवन्धु पोखरेल, शहिद लखन गाऊँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्वर ९ का अध्यक्ष रामकुमार श्रेष्ठ, आयोजक समितिका महासचिव नारायण लामिछाने, नामजुङ सेवा समाजका अध्यक्ष शिव बञ्जाराले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल सहितका कलाकारले साँगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।





















