१० बर्ष अगाडीको मनकामना मन्दिर र जिणोद्वार पछि बनको मन्दिर
गोरखा । मन्दिरको सौन्दर्यतामा असर गर्ने भन्दै गोरखाको मनकामना मन्दिरमा परेवा उडाउन पुनः निषेध गरिएको छ । ०७२ सालमा गएको बिनाशकारी भूकम्प पछि मन्दिरको जिर्णोद्वार गर्दा मन्दिरको छाना सुन हालिएको र परेवाको दिशाले छानाको रुपलाई असर गर्ने भए पछि परेवा उडाउन रोक लगाइएको थियो ।
पछिल्लो समय पुनः मन्दिरमा परेवा उडाउनेको संख्यामा बृद्वि हुदै गए पछि भिजिट मनकामना डटकमले परेवा उडानमा लगाएको रोकलाई निरन्तरता दिदै सचेतना अभियान सञ्चालन गरेको संस्थापक राजेन्द्र लामाले बताए । ‘परेवाको विष्टाले मन्दिरको छाना कामै नलाग्ने गरी कुरुप देखिने’ भन्दै संस्थापक लामाले भने ‘मन्दिरको रुपलाई जोगाई राख्न पनि पुनः अभियान सञ्चालन गरिएको हो ।’
अभियानम मन्दिरका पुजारी, मनकामना बजारले ओगटेको शहिद लखन गाउँपालिका वडा नम्बर २ र ३, मनकामना क्षेत्र बिकास समिति र उद्योग बाणिज्य संघ, मनकामना ईकाइ समिति तथा स्थानिय संघ संस्थाहरुको पनि सहयोग रहेको उद्योग बाणिज्य संघ, मनकामना ईकाइ समितिका अध्यक्ष हरी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार पछिल्लो समय मनकामना बजार भित्रैका केही ब्यापारीहरु र चितवनको चेरेशमा रहेको मनकामना केबलकारको गेट वरपरका ब्यापारीहरुले दर्शनार्थीलाई परेवा बिक्री गर्न थाले पछि निषेधको अभियानलाई पुनः थालिएको हो ।
उक्त क्षेत्रमा अहिले पनि जोडी परेवाको ५०० देखी २ हजार रुपैयाँसम्म बिक्री हुदै आएको छ । भिजिट मनकामनाले हिजो (आइतबार) देखी अभियानको थालनी गरेको छ । संस्थापक लामाका अनुसार यो हप्ताभरी अभियान अन्तरर्गत मनकामना मन्दिरमा आउनेहरुलाई ‘मनकामनामा परेवा लैजान पुर्णरुपमा निषेध’ भनिएको पर्चा बितरण गरिने र अर्को हप्ताको आइतबारबाट परेवा लिएर आएको खण्डमा फिर्ता गरिने छ ।
अभियानलाई सफल पार्न भिजिट मनकामनाले मनकामना दर्शन प्रालिलाई समेत पत्राचार गरेर केबलकारमा यात्रा गर्ने जो कोहीलाई पनि मनकामनामा परेवा लैजान निषेध गर्न अनुरोध समेत गरेको छ ।
यता मनकामना मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले मन्दिरमा रहेको देवीको नाममा परेवा उडाउदा समस्या आएको बताए । उनले ‘परेवाको उचित बास्थान नभएकोले परेवा नउडाउन’ भन्दै ‘तिर्थयात्रीले लिएर आएका परेवा केही दिन मित्रै मर्दा ब्यवस्थापनको समस्या भएको’ बताए ।
उता मनकामना केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले यात्रुहरुलाई परेवा लान निषेध गरेको भएता पनि लुकाई छिपाई लाने गरेको बताए । उनका अनुसार यात्रुले कर्मचारीलाई झुक्काएर परेवा लैजाने गरेको बताए ।



