गोरखा । आउदै गरेको फागुपूर्णिमा अर्थात होलीपर्वमा कानून विपरितका गतिविधिहरु नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले सबैलाई सचेत गराएको छ । प्रशासनले आज होलीपर्वमा कानूनले बर्जित गरेको कुरा गरेको पाईएमा कडा कानूनी कारवाही गर्ने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाद्वारा बुधबार जारी सूचनामा फागुन २२ गते परेको फागुपूर्णिमा हर्षोल्लास पुर्वक मनाउने क्रममा कसैको इच्छा विपरित लोला हान्ने तथा पानी छयाप्ने कार्य भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने ब्यहोरा उल्लेख गरिएको छ ।
सोही सूचनामा होलीपर्व मनाउने बहानामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने तथा बाटो ढुकेर जवरजस्ती बटुवालाई रङ दल्ने कार्य गरे गराएमा पनि कानूनी दायरामा ल्याउने जानकारी गराईएको छ ।
सूचनामा बाटोमा अवरोध गरी सवारी साधनबाट रकम असुल गर्ने र कुनै पनि ब्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने जस्ता अराजक गतिविधि नगर्न÷नगराउन भन्दै वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको रंगिन बस्तुहरु, केमिकल र प्लाष्टिकजन्य सामाग्रीहरु प्रयोग नगर्न÷नगराउन भनिएको छ ।
सूचनाको बर्खिलाप गरी त्यस्ता कार्य गरे÷गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने सूचनामा भनिएको छ ।
साथै फागुपूर्णिमा अर्थात होलीपर्वको अवसरमा सम्पूर्ण जिल्लाबासीहरुमा सुख शान्ति, प्रगति, समृद्वि तथा आपसी सद्वभाव र सौहार्दता अभिवृद्वि गर्न सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ जारी सूचनामा भनिएको छ ।





















