गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी गोरखामा हालै निर्माण सम्पन्न भएको अपरमाछाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाट क्षमताको जलबिद्युतको सोमबार प्रधानमन्त्री दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारबाटै उदघाटन गर्दै आफूले गोरखाको वृहत्तर विकासको परिकल्पना गरेको भन्दै हाइड्रो त्यसको सहायक हुनसक्ने आशा ब्यत्त गरे ।
प्रधानमन्त्री दाहालले सो अबशरमा उत्तरी गोरखामा उत्पादन हुने जलविद्युतका लागि केन्द्रीय प्रशारणमा जोड्न सहज हुने गरी माछाखोला आसपासको क्षेत्रमा १३२ केभिएको प्रशारण लाइन लैजाने पनि प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गोरखा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले बिकट भौगोलिक अवस्थितिका बाबजुद आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिएका थिए । उनले बूढीगण्डकी करिडोरमा १ हजार मेगावाट भन्दा बढि क्षमताका विभिन्न जलविद्युत आयोजनाहरु सञ्चालन हुने भन्दै त्यस क्षेत्रमा सबस्टेशन, प्रशारण लाइन आदि पूर्वाधारको व्यवस्था गरिदिन प्रधानमन्त्री दाहालला२ आग्रह गरेका थिए ।
धार्चे गाउँपालिका–४ को जेर्बुखोलामा रहेको आयोजनाले २०७८ सालमा नै काम सम्पन्न गरेर केन्द्रिय प्रशारण लाइनमा जान खोजेको भएता पनि कोरोना महामारी कारण ढिला भएको आयोजनाका लगानी कर्ता सरोज धितालले जानकारी दिए ।
१ अर्ब २ करोड रुपैयाँ लगानी भएको आयोजनमा राष्ट्रिय वाणिज्य वैँकले ६५ प्रतिशत लगानी गरेको छ । आयोजनामा ३५ प्रतिशत लगानी स्वदेश तथा विदेशमा रहेका नेपालीले गरेका छन् । आयोजनाबाट उत्पादित विद्युत २३ किलोमिटर पर धादिङको बसेरी सबस्टेशनमा जोडिएको छ ।


