गोरखा । गोरखामा नेकपा एमालेको मिसन ग्रासरुट अभियान शुरु भएको छ । एमाले स्थायी कमिटि सदस्य किरण गुरुङको उपस्थितिमा जिल्ला सदरमुकाममा आइतवार भएको कार्यक्रममा अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै स्थायी कमिटि सदस्य गुरुङले माओवादीको अस्थिर गतिविधिका कारण देशमा राजनीतिक उतारचढाव देखापरेको बताए ।
गुरुङले नागरिकको विकास र समृद्धिको चाहना पूरा गर्न एमालेले देशको नेतृत्व गर्नु जरुरी रहेको भन्दै ग्रासरुट अभियान त्यसैको प्रस्तान विन्दू भएको बताए ।
बाटो बिराएकाहरु र निष्क्रिय रहेका पार्टी कार्यकर्तालाई संगठित गर्दै आगामी निर्वाचनमा नेकपा एमालेको एकल बहुमत आउने गरि पालिका, वडा, टोल र घरघरसम्म अभियान सञ्चालन गरिने स्थायी कमिटि सदस्य गुरुङको भनाई छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य टुका हमाल र गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले मिसन ग्रासरुट अभियान सञ्चालनका सम्बन्धमा धारणा ब्यक्त गरेका थिए ।
यो अभियान अन्तर्गत फागुन १५ देखि २१ गतेसम्म ११ वटै पालिका कमिटिको बैठक बसेर २ महिनासम्म चल्ने अभियानको योजना बनाइने एमाले जिल्ला कमिटि उपसचिव सुरेश श्रेष्ठले जानकारी दिए । त्यसपछि सबै पालिकाको वडा कमिटि, टोल कमिटि हुँदै घरघरसम्म अभियान सञ्चालन हुने छ ।
अभियानका लागि पार्टीका ११ वटा कार्यादेश सहित ४ जना केन्द्रिय सदस्यलाई पालिकाहरुमा खटाइने छ । उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् । जस अन्तर्गत आरुघाट, चुमनुब्री र धार्चे गाऊँपालिकामा किशोरबिक्रम मल्ल, पालुङटार नगरपालिका सहित अजिरकोट र सिरानचोक गाऊँपालिकामा टुका हमाल, गोरखा नगरपालिका सहित भिमसेनथापा र वारपाक सुलिकोट गाऊँपालिकामा तिलक महत तथा गण्डकी र शहिद लखन गाऊँपालिकामा रविन्द्र अधिकारीलाई खटिनेछन् ।
यो अभियान पछिभने पार्टीले नयाँ गति लिने एमाले गोरखाको विश्वास रहेको छ ।


