गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति चयनमा सर्वसम्मतको प्रयास भइरहेको बताए । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २८औँ स्मृति दिवसका अवसरमा बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सहमतिमै राष्ट्रपति चयन हुने सम्भावना रहेको बताएका हुन् ।
कार्यकरुममा बोल्दै उनले एमालेसँग पनिराष्ट्रपति सर्वसम्मत बनाउने बारेमा कुरा भईरहेको भन्दै त्यसो नभएको खण्डमा देश नयाँ ढङ्गले अघि बढ्ने बताए ।
प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका सबैलाई राष्ट्रिय शहिद घोषणा गरिने भन्दै त्यसका लागि मुख्य सचिवलाई राजपत्रमा सूचना प्रकाशन गर्न निर्देशन दिएको बताए ।
उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग विधेयक संशोधन गरेर सदनमा प्रस्तुत गर्न लागिएको भन्दै यसले जनयुद्ध र जनआन्दोलनका घाइते तथा बेपत्ता परिवारलाई धेरै हदसम्म मलमपट्टी लगाउन मद्वत पुग्ने आशा ब्यत्त गरे ।
प्रधानमन्त्री दाहालले माओवादी, राजनीतिक दल, सेना, प्रहरीलगायत युद्ध र आन्दोलनमा क्षति भोगेकाहरूलाई क्षतिपूर्तिसहितको परिपूरणको व्यवस्था गर्ने भन्दै उनीहरूको सम्मानमा ठाउँठाउँमा पार्क बनाउने तयारी भई रहेको पनि बताए ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरीमाया रम्तेलसहित बारपाकभित्रका शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेका थिए ।

प्रधानमन्त्री दाहालले आजै गोरखाको पालुङटारमा मतदातालाई धन्यबाद दिने कार्यक्रम समेत रहेको छ ।
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय


