गोरखाको लक्ष्मी बजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसको भवन
गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारमा आजदेखी पढाई सुरु भएको छ । क्याम्पस प्रमुख रामचन्द्र दुवाडी र अखिल क्रान्तिकारी बिचको बिबाद समाधान भए लगत्तै सोमबार बिहानैदेखी पढाई सुरु भएको हो ।
आइतबार जिल्ला प्रहरी कार्यालय गोरखामा दुबै पक्ष बिच सहमती भए संगै पढाई सुचारु भएको क्याम्पस प्रशासनले जनाएको छ ।
आइतबार भएको छलफलमा दुवै पक्षले आ–आफ्ना तर्फबाट भएका गल्ती स्विकार गरी अबदेखी त्यस्ता गल्ती नदोहरर्याउने सर्तमा पढाई सुचारु गरिएको हो ।
छलफलमा क्याम्पस प्रमुख दुवाडी र अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरु बिच दुवै तर्फबाट आत्माआलोचना गरेर विवाद समाधान गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
छलफलमा आगामी दिनमा दुवै पक्षले क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा पठनपाठनका लागि भूमिका खेल्ने सहमती भएको छ । त्यसका साथै आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन शान्तिपूर्ण ढंगबाट सफलता पूर्वक सम्पन गर्ने बिषयमा समेत सहमती भएको छ ।
सरकारले यहीँ फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि क्याम्पस प्रमुख दुवाडीले सामाजिक सञ्जालमा बिदाको बिरोध गर्दै ‘कथित जनयुद्ध शब्दलाई बैधानिकताको धृष्टता गर्ने वर्तमान सरकार मुर्दावाद’ भनेर स्टाटस लेखेपछि अनेरास्ववयू (क्रान्तिकारी)ले त्यसको बिरोध गर्दै क्याम्पस प्रमुख दुवाडी माथि दुरब्यर्वहार गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका थिए ।
त्यस लगत्तै क्याम्पस प्रमुख दुवाडीले प्रहरीमा दुरब्यर्वहारमा संलग्नहरुलाई कानूनी कारवाही गनुपर्ने जाहेरी दिएका थिए भने क्र्रान्तिकारी बिधार्थी संगठनले क्याम्पस प्रमुखको राजिनामा माग्दै अनिश्चित कालका लागि क्याम्पसमा ताला लगाएका थिए ।




















