गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक गाडी पुगेको छ । नेपाली सेनाले उत्तरको साम्दोसम्म जाने सडकको निर्माण भए पछि पहिलो पटक चुमनुब्री गाउँपालिकामा गाडी पुगेको हो ।
पहिलो पटक सवारी साधन पुगेको क्षेत्र चुमनुब्री गाउँपालिका–३ को जगत हो । बुधबार एकै पटक उक्त स्थानमा ४ वटा ट्रक र ४ वटा जिप पुगेको स्थानिय विशाल घलेले जानकारी दिए ।
घलेका अनुसार विकट दुर्गममा पहिलो पल्ट गाडी पुगेको ऐतिहासिक दिन भन्दै स्थानिय खुशी भएको जानकारी दिए । स्थानियले सडक निर्माण आयोजनाको जिम्मा लिएको नेपाली सेनालाई पनि धन्यबाद दिएका छन् ।
आज सवारी साधान पुगेको स्थानसम्म पुग्न बिगतमा गोरखा सदरमुकामबाट ३ दिनको पैदल यात्रा गरेर मात्र पुग्न सकिन्थ्यो । अब भने गोरखा सदरमुकामबाट सवारी साधनमा ३ देखी ४ घण्टामा सहजै पुग्न सकिने भएको छ ।
अब भने उक्त स्थानबाट उत्तरी गोरखाको सामागाउँ पुग्न २ देखी ३ दिन र छेकम्पार पुग्न १ देखी २ दिन लाग्ने पनि घलेले जानकारी दिए । पहिला सो क्षेत्रमा पुग्न गोरखा सदरमुकामदेखी ५ देखी ७ दिनसम्मको पैदल यात्रा तय गनुपर्ने बाध्यता रहेको थियो ।
तस्बिर : बिशाल घले


