चुम उपत्यकाकाे छुले गाउँ
गोरखा । उत्तरी गोरखाको चुम उपत्यकामा ‘चुम श्याग्या शताब्दी महोत्सव २०८०’ को आयोजना हुने भएको छ । बिगत १०० बर्षभन्दा बढी समयदेखी अहिंसा क्षेत्र रहेको उक्त क्षेत्रमा शताब्दी पुरा भएको अवशर पारेर महोत्सवको आयोजना गरिएको हो ।
चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ र ७ ले ओगने उक्त क्षेत्र चुम उपत्यकाको रुपमा परिचित छ । साविकको चुम्चेत र छेकम्पार गाउँ बिकास समिति रहेको उक्त क्षेत्र बिक्रम सम्बत १९७७ सालदेखी अहिंसा क्षेत्र हो ।
२०७७ सालमा नै १०० बर्ष पुगेको अवशरमा शताब्दी महोत्सव गर्ने तयारी गरेको भएतापनि कोरोना कहरका कारण रोकिदै आएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘हामीले २०७७ सालमा नै शताब्दी महोत्सवको आयोजना गर्ने तयारी गरेका थियौ तर कोरोनाले दुःख दियो ।’ अध्यक्ष लामाले भने ‘यो पटक भने २०८० सालको बैशाखमा महोत्सवको आयोजना गर्ने तयारी गरेका छौ ।’
‘अहिंसाको अभियान, चुमबासीको पहिचान’ नारा दिएको महोत्सव आउदो २०८० सालको बैशाख ६ गतेदेखी ९ गतेसम्म हुने भएको छ । तयारीको बारेमा जानकारी दिन बुधबार बिहान आयोजित पत्रकार सम्मेलन बोल्दै आयोजक चुम श्याग्या शताब्दी महोत्सव मुल समारोह समितिका संयोजक तथा गाउँ पालिकाका अध्यक्ष लामाले ४ दिन विविध कार्यक्रम गरेर मनाउने तयारी भईरहेको जानकारी दिए ।
चुम उपत्यकाका मानिसहरुले बिक्रम सम्बत १९७७ सालदेखी भिरमौरीको मह समेत काट्न छाडेका छन् । चुमलाई विश्वकै जैविक विविधता भएको एक मात्र खुल्ला संग्रालय समेत मानिदै आएको छ । यो क्षेत्रमा २०० प्रजातिको जडिबुटी पाईनुका साथै मानिस पशुपंक्षी बिच पारिवारीक सम्वन्ध रहेको स्थानको रुपम परिचित छ ।
१९७७ सालमा तात्कालिन महागुरु करुणामय अवतारी पुज्य डुक्पा लामा सेराप दोर्जेले चुम उपत्यकाबासीलाई अहिंसा सिद्वान्तको पालना गर्ने कुरामा सामुहिक प्रतिबद्वताकालागि सम्भोटा लिपिमा लिखित निर्णय गराएर सामुहिक हस्ताक्षर गराएर प्रतिबद्वता जनाएदेखी उक्त क्षेत्र विश्व माझ अहिंसा क्षेत्रको रुपमा परिचित छ ।
महोत्सव आयोजना गर्नुको उद्वेश्यहरु बारेमा जानकारी दिदै संयोजक लामाले अहिंसाको नीति तथा अध्यासहरुलाई निरन्तरता दिने र सोको संरक्षण तथा सम्वर्धन गर्न, परम्परागत संस्कृती, अभ्यास तथा प्रथाजन्य नीतिका रुपमा रहेको अहिंसाको जनचेतना अभिबृद्वि तथा राष्ट्रिय अभियानमा योगदान दिन महोत्सवको आयोजना गरिएको बताए ।
महोत्सवको पहिलो दिनमा नै प्रधानमन्त्री र मुख्य सचिवले लिखित रुपमा नै चुम उपत्यका अहिंसा क्षेत्र भएको भन्दै हस्ताक्षर गराउने कार्यक्रम समेत रहेको छ ।
छेकम्पारमा हुने महोृत्सवमा १ करोड २६ लाख ३५ हजार खर्च हुने अनुमान गरिएको छ । जसमध्ये चुमनुब्री गाउँपालिकाले ३० लाख रुपैयाँ बिनियोजन गरेको छ भने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ८ लाख ५० हजार गरी ४५ लाख संकलन भईसकेको र अन्य रकम सहयोगि मार्फत उठाउने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
मुख्य आयोजक चुम श्याग्या शताब्दी महोत्सव मुल समारोह समिति रहेको र सह–आयोजकमा चुमनुब्री गापा, एमक्याप, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, आदीबासी जनजाति अनुसन्धान तथा बिकास केन्द्र, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकार रहेका छन् ।
४ दिनसम्म चल्ने महोत्सवमा धर्म गुरु रिन्पोछेबाट प्राकृतिक पुजार शान्तिदिप प्रज्वलन, बृक्षा रोपण तथा १०० वटा झण्डोतोलन, विश्व शान्ति पदयात्रा, स्थानिय साँस्कृतीक कार्यक्रम, नारा्क छ्याम् लाखेनाच तथा परम्परागत घोडे जात्रा हुने छ ।
तस्बिर : छाङ दाेर्जे लामा



