काठमाडौं । भानु माध्यमिक विद्यालय दरबार हाइस्कुलमा सार्वजनिक विद्यालय सुधारको माग राख्दै सोमबारदेखि आमरण अनसनरत गोरखाका प्रकाश न्यौपानेलाई काठमाडौं महानगर प्रहरीले हटाएका छन् ।
गोरखा जिल्ला पालुङटार नगरपालिका–४ लुईटेल डाडाँ घर भएका न्यौपानेले सोमबारदेखी विभिन्न १६ बुँदे माग राखेर अनसन बस्दै आएका थिए । विद्यालय परिसरमा अनसन नबस्न आग्रह गर्दा आफ्नो माग कतै सुनुवाई नभएकोले नेपालको पुरानो स्कुलमा बस्दा सुनुवाई हुन सक्ने भन्दै अनसन बसेको स्कुलका प्रधानाध्यापक सारदाकुमारी पौडेलले बताइन् ।
पौडेलले भनिन् ‘विद्यालयको सुधारको लागि भनेर विद्यालयमा अनसन बस्दा विद्यार्थीलाई असर गर्छ यहाँ नबसिदिनुहोस् भनेको मान्नुभएन । मैले सम्बन्धित निकाय सबैमा खबर गरेकी थिएँ । आज नगर प्रहरी आएर लानुभयो’ । न्यौपानेलाई दिउसो नगर प्रहरीले उठाएर लगेको उनले जानकारी दिईन ।
न्यौपानेले शिक्षकलाई राजनीति गर्न नदिनुपर्ने, प्रअको अलग पद निर्धारण गर्नुपर्ने, शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर राखिनुपर्ने, ५÷५ वर्षमा लाइसेन्स नवीकरण, ५ वर्षमा शिक्षकको अनिवार्य सरुवा गरिनुपर्ने, सरकारी तलब खानेले अनिवार्य सरकारी स्कुलमा छोराछोरी पढाउनुपर्ने लगायतका १६ बुँदे माग राख्दै अनसन बसेको पौडेलले जानकारी दिइन ।




















