फाईल तस्बिर
गोरखा । गोरखाको लक्ष्मी बजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माथि माओवादीका कार्यकताहरुले दुर्व्यवहार गरेका छन् । क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जनयुद्व दिवशको बिरोध गरेको भन्दै उनीहरुले प्रमुख माथि दुर्व्यवहार गरेका हुन् ।
प्रमुखले फागुन १ गते जनयुद्व दिवशको बिरोध गर्दै आफ्नै फेसबुक स्टाटस हालेका थिए । सोही स्टाटसको बिरोध गर्दै आइतबार नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष अनिश अर्याल (ज्याक)ले १२ घण्टा भित्र सार्वजनिक रुपमा माथि माग्न भनेको थियो ।
प्रमुखले सार्वजनिक रुपमा माथि नमागेको भन्दै बिद्यार्थी नेता अर्यालको नेतृत्वमा गएको ११ जनाको समूहले क्याम्पस प्रमुख दुवाडीलाई दुर्व्यवहार गर्नुका साथै उनको कार्य कक्षमा रहेको टेबल र कुर्ची तोडफोड गरेका थिए ।
अर्याल गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरका स्वकीय सचिव हुन । नगरपालिकाको सरकारी मोटरसाइकल लिएर पुगेका उनको टोलीले दुवाडीलाई हातपात गरेको एक बिद्यार्थीले जानकारी दिए ।
उनी संगै गोरखा जिल्लाका समन्वय प्रमुखका स्वकीय सचिव राजन आले तथा बुंकोट घर भएका अमृत श्रेष्ठ समेत टोलीमा सहभागी भएका थिए ।
यता अनेरास्वियु (क्रान्तिकारी)का अध्यक्ष अर्यालले हातपात नभएको तर बार्तामा बस्दा प्रमुखले गल्ती स्विकार गर्न नमान्दा साथीहरुले तोडफोड गरेको बताए ।
अहिले घटना स्थलमा प्रहरी निरिक्षक सहितको टोली पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले बताए ।
घटनाका बिषयलाई लिएर क्याम्पसका कूनै पनि कर्मचारीहरुले बोल्न चाहेनन् ।
क्याम्पस प्रमुखले आइतबार आफ्नो स्टाटसमा ‘कथित जनयुद्व शब्दलाई बैधानिक दृढता गर्ने बर्तमान सरकार मुर्दाबाद’ भनेर पोष्ट गरेका थिए ।





