घरमा पालेकाे कुकुरलाई रेविज बिरुद्धको भ्याक्सिन दिदै पशु चिकित्सक
गोरखा । गोरखाको भिमसेनथापामा गाउँपालिकामा बहुला कुकुरले घर पालुवा पशुलाई टोके पछि स्थानीयबासीहरुमा त्रास फैलिएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित तान्द्राङ ओख्लेमा कुकुरको टोकाईबाट एउटा बाख्रा मरेपछि रेविज फैलिएको आंशकामा स्थानीयबासीमा त्रास फैलिएको हो ।
बिहीबार बिहान करिब १० बजेको समयमा जर्मन सेर्फड जातको कुकुरले १ जना मानिस र ८ बाख्रालाई टोकेको भीमसेन थापा गाउँपालिका पशुसेवा शाखाका केशरबहादुर थापाले जानकारी दिए ।
कुकुरले टोकेर भागेको २४ घण्टा नबित्दै टोकाईबाट १ वटा बाख्रा मरेपछि रेविज भएको हुनसक्ने आंशका गरिएको उनले जानकारी दिएको छ ।
कुकुरको टोकाईबाट ४ बटा बाख्रा पनि बिरामी परेको छ । घटना लगत्तै भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखा र गाउँपालिका पशुसेवा शाखाका टोली घटनास्थलमा पुगेर कुकुरले टोकेका पशुलाई रेविज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ ।
गाउँपालिकाको पशुशाखाले दिएको जानकारी अनुसार ३८ वटा बाख्राहरुलाई रेविज बिरुद्धको भ्याक्सिन लगाइएको छ ।
कुकुर कहाँबाट आएको हो र कता गयो भन्ने बारेमा कसैलाई जानकारी नभएको १ जना स्थानियले बताए । कुकुरले टोकेका भनिएका व्यक्तिहरु भने उपचारका लागि गोरखा अस्पतालमामा भ्याक्सिन लगाउन थालेका छन् ।
भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्रबाट डा.शर्मिला कुमालको नेतृत्वमा प्रभावित क्षेत्रमा पुगेर पशुबस्तु र कुकुरलाई एन्टिरेबिज बिरुद्धको भ्याक्सिन दिइ रहेका छन् । कुकरलाई आजसम्म पनि नियन्त्रणमा लिन नसकिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले त्यस्तो प्रकारको कुकुर देखिएमा जानकारी दिन र जोखिम हुन सक्ने भन्दै सर्तक रहन सबैलाई आग्रह गरेको छ ।


