गोरखा । उत्तरी गोरखाको विभिन्न क्षेत्रमा हिमपात सुरु भएको छ । मौसममा आएको परिवर्तन संगै आज बिहानैदेखी हिमपात सुरु भएको हो ।
मौसममा आएको परिवर्तन र चिसो बढे पछि बुधबार बिहानैदेखी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका निमा दोर्जेले बताए । ‘बिहान ५ बतेतिरबाट हिउँपर्न सुरु भएको’ भन्दै दोर्जेले भने ‘बिहान १० बजेसम्म १ फिट बरावरको हिउँ जम्मा भईसकेको छ ।’
साम्दो उत्तरी गोरखाको पश्चिम भेगको अन्तिम गाउँ हो । हिउँ पर्न थाले पछि यहाँका सर्व साधारणले खुशी मनाएका छन् । ‘हिउँ परे पछि धुलो उड्दैन’ दोर्जेले भने ‘हिउँ नपर्दा भने हावाले धुवा उडाएर स्वास्थ्यमा समस्या हुने गर्दथ्यो ।’ उत्तरी क्षेत्रमा हिमपात हुनु भन्दा अगाडी सुख्खा मौसम हुने हुदा हावाले धुवा उडाएर सर्व साधारणको स्वास्थ्यमा समस्या हुने गर्दछ ।
हिमपातले सुकेको घाँस पनि पुनः पलाउने तथा खेती बालीलाई राम्रो मल हुने भएको पनि उत्तरी गोरखाका सर्व साधारण खुशी भएका हुन् ।
२ दिन अगाडी मात्रै पनि उक्त क्षेत्रमा हिउँ परेको र सोमबार र मंगलबार मौसम सफा भएता पनि बुधबार बिहानैदेखी पुनः हिउँ पर्न थालेको हो ।

हिउँ पर्दा सञ्चार सम्पर्क र बिजुली बत्तीमा समस्या आउने गरेको ब्यापारी समेत रहेका निमा दोर्जेले जानकारी दिए । ‘चिसोले खासै समस्या हुदैन । यहाँका मानिस र गाई बस्तुले चिसो सहन सक्छ तर धेरै दिनसम्म हिउँ पर्यो भने चाही घर पालुवका जनावरलाई घाँस खुवाउन समस्या हुने’ उनले बताए ।
लामो समयसम्म हिउँ पर्दा भने उत्तरी गोरखामा हिउँ पहिरो जान सक्ने र त्यसबाट जंगलमा रहेका जनावरलाई समेत असर गर्न सक्ने उनले जानकारी दिए ।
बुधबार बिहानैदेखी सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।
तस्बिर निमा दाेर्जे साम्दाे
सिर्दीबासकाे फिलिमबाट देखिएकाे दृष्य















