गोरखा । उत्तरी गोरखाको हिनांगमा रहेको पुंगजी गुम्बा आगलागी हुदा जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । मंगलबार दिउसो ४ बजेदेखी अचानक लागेको आगोका कारण गुम्बा जलेर ध्वस्त भएको हो ।
गुम्बा अनुगमन गर्दै साँसद नन्दप्रसाद न्याैपाने
गुम्बामा भएको आगलागीका कारण ३० करोड भन्दा बढीको क्षती भएको प्रदेश साँसद नन्दप्रसाद न्यौपाने बताए । हेली मार्फत उक्त स्थानमा पुगेका साँसद न्यौपानेले सदरमुकाम फर्किए लगत्तै आगलागीका बारेमा संघिय र प्रदेश सरकारलाई जानकारी गराउने र पुनः निर्माणका लागि पहल गरिने जानकारी दिए ।
आगलागीबाट ध्वास्त भएकाे गुम्बा
आगलागीबाट मन्दिर भित्र रहेको सबै मुर्ती, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रपत्रहरु जलेर नष्ट भएको अनुगमन टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए ।
आगलागीबाट ध्वास्त भएकाे गुम्बाकाे मुल गेट
आगलागी सोलारको लाईनमा सर्ट भएर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए । अनुगमन टोलीमा सहभागी भएका प्रउ खनालका अनुसार सोलारका लागि प्रयोग भएको तारमा सर्ट भए पछि भएको आगलागीले गुम्बा पूर्ण रुपमा ध्वस्त भएको छ ।
आगलागी नियन्त्रण पछि फेला परेका केही सामाग्रीहरु
ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण मानिएको उक्त गुम्बामा भएको आगलागी स्थानियको सहयोगमा मंगलबार अबेर राती मात्र नियन्त्रणमा आएको थियो ।
आगलागी नियन्त्रण पछि फेला परेका केही ताम्रपत्रहरु
२०० बर्षभन्दा पुरानो उक्त गुम्बा गएको बर्ष मात्रै पुनः निर्माण गरिएको थियो । गुम्बा जलेर नष्ट भए पछि स्थानियले आफ्नो आस्थामा गहिरो चोट लागेको जानकारी दिए ।
अनुगमन टोलीमा सहभागी साँसद न्यौपानेका स्वकीय सचिव शिवहरी तिमिल्सीनाका अनुसार ३ हजार ३०० मिटर उचाईमा रहेको उक्त गुम्बा ढुङा र माटो बाहेकका सबै जलेर नष्ट भएको जानकारी दिए ।
तस्बिर शिवहरी तिमिल्सीना

























