गोरखा । पालुङटार क्षेत्रबाट जुवा खेलेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी मुद्वा दर्ता गरेको छ । बुधबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज जिल्ला प्रशासन कार्यालय गोरखामा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर मुद्दा दर्ता गरेको हो ।
पालुङटार नगरपालिका–३ को सिउडेली जंगलमा हार जित हुने गरी जुवा खेलीरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलीले पालुङटार नगरपालिका–५ का ईश्वरी प्रसाद न्यौपाने र जयराम राजभाट तथा पालुङटार नगरपालिका–३ का ६२ को कृष्ण बहादुर बोगटी र जानु मोहम्मदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले बताए ।
प्रनाउ लामिछानेका अनुसार उनीहरुले हारजित हुने गरी जुवातास खेली रहेको र खेल्नका लागि प्रयोग गरेको म्याट्रेस, कम्मल, तास समेत बरामद भएको छ । पक्राउ परेकाहरुबाट ४७ हजार ४७० रुपैयाँ समेत बरामद भएको लामिछानेले जानकारी दिए ।
बुधबार दिउसो १२ः१५ बजे पक्राउ परेको उनीहरु विरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा मुद्दा दर्ता गरी म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


