×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आज माघे सङ्क्रान्ति

  •  गोरखा समाचार
  • आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघीे नामले चिनिने नेपालको एक प्रमुख चाड हो ।े यो माघ महिनाको पहिलो दिन पर्दछ । ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ुमकर सङ्क्रान्तिु पनि भनिएको हो।

    सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।

    माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।

    भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।

    मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

    महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

    नेपालमा माघे सङ्क्रान्ति

    भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या÷सेर्ल्हेस पनि भनिन्छ ।

    नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

    ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा १–२ दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजिकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्त्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ । हाम्रो देशका बेग्लाबेग्लै ठाउँमा बसोबास गर्ने भिन्नभिन्न जनजातीसँग रहेको यस पर्वको सम्बन्ध र त्यसले सञ्चरण गर्ने एकता र सद्भावको सन्देशलाई समेट्ने प्रयास गरिएको छ ।

    उपत्यका

    यद्यपि उपत्यकामा सबै भागका जनताको उपस्थिति पाइन्छ तापनि यहाँका रैथाने भनेका नेवार जनजातीका मानिसहरू हुन । नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् । बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकिर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् । यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ । त्यस्तै उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ ।

    पूर्वी नेपालको इलाममा

    माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्छ । सदरमुकामबाट तीन किलोमिटर पूर्वमा रहेको माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै मित्रराष्ट्र चीन र भारतका व्यापारीहरूले समेत मेलामा पसल राख्ने गरेकाले मेलाको व्यापारिक महत्त्व छ । उक्त मेलामा धान नाच, चण्डी नाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य हेर्न पाइन्छ ।

    झापा

    यसैगरी माघे सङ्क्रान्तिका दिन झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ । कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।

    सुनसरी

    सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।

    पूर्वी तराई

    यस पर्वलाई तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ । मिथिलाञ्चलमा भक्तजनले माघे सङ्क्रान्तिका दिन बिहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन् । कतिपय धर्मावलम्बीले बिहान नुहाएर भगवतीको उपासना गर्ने र कतिपयले भगवतीको प्रतिमासामु तेल, चामल, सख्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ । धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ । यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ । यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवाच्युरा पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ । खासगरी मैथिल महिलाका लागि तिला सङ्क्रान्ति पर्वको अझ बढी महत्त्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइ दिने परम्परा पनि छ । यस प्रथालाई मैथिलीमा जडाउर भनिन्छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरू गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउखिचडी खान्छन् ।

    नुवाकोट तारूका गोरू मेला

    नुवाकोटको तारूकामा प्रत्येक वर्ष माघ १ गते वा माघे सङ्क्रान्तिका दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ । यो मेला अन्तर्गत तारुकाको चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ । यस गोरु जुधाइ मेलाले नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको छुट्टै ऐतिहासिक महत्त्व बोकेको छ ।

    पश्चिम नेपाल

    दैलेख लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ । यस क्षेत्रमा मकर सङ्क्रान्तिलाई चेलीत्यार भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर ९सेलरोटी०, पकाएर पहिले कागको लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ । राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर आगो लगाइन्छ । गाउँका बुढा बुढी तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन् । मुढा ताप्ने थलामा रात भर कसैले देउडा लगायत विभिन्न नाचगान गर्छन् भने कसैले गाउँ खाने कथा, दन्तेकथा गरेर रात काट्छन् । बिहान भएपछी नुहाएर सबै भन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ । कागलाई बोलाउँदा केटाकेटीहरू ूकौवा का का, बाबर खा खाू भनेर बोलाउछन् । त्यस पछि दिनमा सेल रोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँडेने चलन छ । माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ । यदी मकर सङ्क्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिना भित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पुगाउने चलन छ । चेलीहरू पनि माघको महिना माइतीहरू आउने बाटो हेर्दछन् । यस्तै भारतको कुमाउँमा यस पर्वला घुघुती को त्यार भनिन्छ । घुघुती भनेको एक प्रकारको परिकार हो । गहुँको पिठोलाई गुडको पानिमा मुछेर घुघुती बनाएर घाममा सुकाइन्छ । राति घुघुतीलाई तेलमा तलेर पकाइन्छ । यहाँ पनि पश्चिम नेपाल जस्तै बिहान कागलाई बोलाएर घुघुती खान दिने चलन छ ।

    रिडी

    चर्चित माघे सङ्क्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला जेठी, माईली र कान्छी सङ्क्रान्तिका रूपमा तीन दिन लाग्ने गरेको हो । मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी हृषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् । ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण तानसेन बजारदेखि ३६ किलोमिटर दक्षिण–पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङजा जिल्लाको सङ्गमस्थलबाट बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तिरमै पुरानो हृषिकेश मन्दिर छ ।

    देवघाट

    देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ । भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्त्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महत्त्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ ।

    थारू समुदाय

    माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ। माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ुजिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड(रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । यतिबेला ुसखियै हो, माघीक पिली गुरी जाँरु भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ुधमारु भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ुमाघ लहानु भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ुखिचरहवाु भनिन्छ ।

    छोरीचेलीलाई उपहार

    माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् ।

    धार्मिक विश्वास

    माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । दाङ–देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ । यसैगरी दाङ–देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ । त्यस्तै, दाङ–देउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ । यो ठाउँ स्थानिय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ । खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ ।

    सम्बन्ध प्रगाढ बनाउने दिन

    माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ । यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ । यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ । मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ ।

    नयाँ आर्थिक वर्ष

    माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । हुन त यो प्रचलन नयाँ होइन ्र प्राचीन कालमा गतेको प्रचलन न आउँदा तिथि अनुसारका वास्तविक माघ महिनाबाट नयाँवर्ष शुरू हुन्थ्यो र पुष कृष्ण औंसीमा वर्षान्त हुन्थ्यो ्र वेदांग ज्योतिषमा भनिएको छ । माघशुक्ल प्रतिपदाबाट नयाँ आर्थिक कार्यनीति शुरु भै पौषकृष्ण औंसीमा सक्किने खालको हुन्थ्यो । यस्ता पञ्चवर्षात्मक कार्ययोजनाहरू लागु गरिन्थे्र माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ ।

    घरसल्लाह गर्ने पर्व

    माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ । माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ । घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्नेजस्ता कुराको छलफल हुन्छ । घरपरिवारभित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन् । जस्तै गरढु्रै (घरमुली बन्ने) गर्ने, ‘बहरिया’ (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ । यही बेला घरमा मिलेर बस्ने या छुट्टनिे कुराको समेत सल्लाह हुन्छ । भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ । यसलाई घर फुटाइ पनि भनिन्छ । अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाईएको हुन्छ ।

    अगुवा चुन्ने काम

    गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल’ (ख्याला)ु भनिन्छ । बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानुन पनि बनाउँछ । नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ । बरघरको महत्त्वलाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ । यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ ।

    महोत्सवको लहर

    माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो । राजधानीमा बसोबास गर्ने थारूहरूले विगतका वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालेका हुन् । विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि थरूहट सबै क्षेत्रमा महोत्सवको रूपमा मनाउन थालिएको हो । माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ ।

    मगर जाति

    नेपालका मगर जातिहरू बीच माघे सङ्क्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सॅग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ। माघे सङ्क्रान्तिलाई मगर जातिले ३ दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरू गर्छन्।वन(तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन् । घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर(तरुल खनेर तयारी गर्छन्। अबेर वन(तरुल लिएर फर्केका पाइहरू रात भरर तरुलपकाउने देखिखि पुरी बनाउने अधिष्ठान्न भोजपकाउनुमामा व्यस्त हुन्छन्।

    पहिलो दिन
    माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ‘निस्रो’ले पुज्ने गर्छन् । पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई ‘निस्रो’ भनिन्छ । त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँ–ठाउँमा पुगेका दिदीबहिनीलाई ‘निस्रो’ बाँड्दै घर–घरमा पुग्छन् ।

    दोस्रो दिन
    दोस्रो दिन युवतीहरू ‘माघ खान’ (वनभोज जस्तै) समूह–समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन् । दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन् । निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५–६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खान्छन् । गाउँमा धान नहुने भएर पनि होला, चामलको भात ‘चिज’ हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन लाग्नेगरी भातबाट ’अनेका परिकारको स्वाद लिन्छन् । कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै ‘माघ खान’ गएका युवतीहरूकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने पनि गर्छन् ।
    दिन छिप्पिँदै गएपछि ती गाउँको चौतारामा भेला भएर ‘होम्पई’ (परम्परागत जातीय नृत्य) नाच्छन् । यसमा डोकोलाई सारी–चोलो लगाइदिएर पोते–तिलहरी र चुरा लगायतका गहनाले सजाइन्छ । होम्पई नाँच्दा केटी डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, जिस्कँदै फन्फनी घुमेर नाच्छन् । जुनसुकै उमेरका पनि यो नृत्य र मेला हेर्न गाउँको चौतारीमा भेला हुन्छन् । मेलामा कसैले पिङ खेल्छन्, कैसैले धनुकाँड खेल्छन्, कसैले नाँच हेर्छन् भने कोही दोहोरी गाएर रमाइलो गर्छन् । युवतीहरू होम्पई नाचिसकेपछि युवा र बूढापाकाको ‘पैसारु÷पैचारु’ नाच सुरू हुन्छ । यो गोलो आकार बनाएर झिली, मादल, पैजन, छिनछिनेजस्ता विविध बाजागाजाको धुनमा नाच्ने गरिन्छ । युवा सिकारुहरूले नाइकेलाई पछ्याउँदै पैचारुको बाइस चाला (नाचको प्रकार) नाच्छन्, जसको बीचबीचमा तालसँगै स्वरको लय मिलाएर उत्साहित पार्ने पनि गरिन्छ ।

    अन्तिम दिन
    माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ । विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिन्हलाई बन्दुकको निसाना बनाइन्छ । पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिन्हमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ । साँझतिर स–साना केटाकेटी जम्मा भएर घर–घरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्ने गर्छन् । उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ । यसरी मगर जातिको बहुलता रहेको गाउँ झुम्लाबाङमा ‘माघे सङ्क्रान्ति’ हर्षोल्लासपूर्वक मनाइन्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ ०१, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.