गोरखा । गोरखा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोलीदेखी स्टिम जिरा मसिनो चामल बिक्री गर्ने भएको छ ।
उपभोत्ताले अत्यन्तै रुचाएको उक्त चामल शाखा कार्यालय गोरखामा आज आई पुगेको र भोली (शुक्रबार)देखी बिक्री गर्ने तयारी भई रहेको सुचना अधिकारी शिव सुनारले बताए । ‘केही बर्ष यतादेखी कम्पनीले बिक्री गर्दै आएको स्टिम जिरा मसिनोको माग अत्याधिक भएको’ भन्दै सूचना अधिकारी सुनारले भने ‘उपभोत्ताको माग अनुसार पुनः चामल बिक्रीका लागि शुक्रबारदेखी सुरु हुने छ ।’
कम्पनीले बिक्री गर्दै आएको चामल मध्ये स्टिम जिरा मसिनो अहिले बजारमा अत्याधिक माग रहेको पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले जानकारी दिएको छ ।
उक्त चामल शाखा गोरखामा प्रति किलो ७० रुपैयाँमा बिक्री गर्दै आएको छ । यो चामल २५ किलोको बोराको १ हजार ७५० मा कम्पनीले बिक्री गर्दै आएको छ ।
कम्पनी संग बिक्री गर्ने सोना मंसुली चामल भने प्रति किलो ५२ मा बिक्री हुदै आएको छ । यो ३० किलोको बोरामा आउने र उक्त चामलको मुल्य १ हजार ५६० पर्ने पनि सूचना अधिकारी सुनारले जानकारी दिए ।
कम्पनीले यस वर्ष सिर्दिबास डिपोलाई २५२ क्विन्टल सोना मन्सुली पठाई सकेको छ । उता माछाखोला डिपोमा पनि स्टिम जिरा मसिनोको माग अत्याधिक भएकोले उक्त चामल केही दिन भित्रै ढुवानी हुने कम्पनीको निमित्त शाखा प्रमुख मुनिलाल कुश्वाहाले बताए ।
यस वर्ष माछाखोलामा ५०० क्विन्टल चामल ढुवानी गर्ने कोटा तय भएको छ भने सिर्दिबास डिपोलाई गोरखा शाखाबाट २ हजार र विमलनगर बाट १ हजार ५०० गरि ३ हजार ५०० क्न्टिल चामल ढुवानी गर्ने लक्ष्य राखिएको छ । जस मध्ये तनहुँको विमलनगरबाट ६६० क्विन्टल खाद्यान्न ढुवानी भईसकेको पनि कम्पनीले जनाएको छ ।
उत्तरी गोरखाको सिर्दिबास डिपोमा भने हाल ४५० क्विन्टल खाद्यान्न मौज्दात रहेको पनि कार्यालयले जनाएको छ ।सिर्दिबासमा सोना मंसुली चामल प्रति केजी ५४ रुपैयाँमा विक्रि हुदै आएको छ ।
उत्तरी क्षेत्रमा माग हुदै आएको स्टिम जिरा मसिनो चामल पनि कम्पनीले तत्काल डिपोमा पठाउने तयारी गरेको कार्यालयले जनाएको छ । सिर्दिबास डिपोमा स्टिम जिरा मसिनो प्रति केजी ७२ र माछाखोला डिपोमा प्रति केजी ७० मा बिक्री हुदै आएको शाखाले जानकारी दिएको छ ।


